पोखरा । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आइतबार पोखरामा सम्पन्न चौथो बाल भेला तथा बाल परिषद् पुनर्गठन कार्यक्रमले कृशा तिवारीको अध्यक्षतामा नयाँ प्रदेश बाल परिषद् चयन गरेको छ। पर्वतकी तिवारी परिषद्को अध्यक्षमा चयन भएकी हुन्।
प्रदेश बाल परिषद्को समन्वयमा आयोजित भेलाबाट उपाध्यक्षमा गोरखाका सुमित थापा, सचिवमा बागलुङकी अनुषा कडेल र सहसचिवमा म्याग्दीका प्रवेश सुनार चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा कास्कीकी रिदिमा थापा, गोरखाकी सुप्रिया गुरुङ, तनहुँकी रोनिया परियार, लमजुङकी सिद्धिका साखी, मनाङका रोविनो विक, मुस्ताङकी प्रविना पाइजा मगर, म्याग्दीकी भूमिका पुन, बागलुङका संयोग पन्त, पर्वतकी ललिता मल्ल, स्याङ्जाकी स्मृति विक र नवलपुरकी कृतिका देवकोटा चयन भएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले बालबालिकालाई अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुन आग्रह गरिन्। आजका बालबालिका नै भोलि देशका महत्वपूर्ण जिम्मेवारीमा पुग्ने भएकाले अहिलेबाटै आफ्नो क्षमता र व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
उनले आफ्ना समस्या, आवश्यकता र माग सम्बन्धित निकायसमक्ष निरन्तर राख्न बालबालिकालाई सुझाव दिइन्। मन्त्रालयमा आएर आफ्ना कुरा राख्ने र सम्बन्धित निकायलाई खबरदारी गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उनले सबै पक्षबीच समन्वय गरेर अघि बढ्न सके बालअधिकारका सवाल सम्बोधन गर्न सहज हुने बताइन्।
मन्त्रालयका निमित्त सचिव घनश्याम पौडेलले बालबालिकाका अधिकार, कर्तव्य र जिम्मेवारी कार्यान्वयनका लागि बाल परिषद्ले महत्वपूर्ण सहजीकरण गरिरहेको बताए। ऐन, कानुन तथा नियमावलीले व्यवस्था गरेका बालअधिकारका विषयमा सचेतना फैलाउनुका साथै गण्डकी प्रदेशका ११ वटै जिल्लामा बालअधिकारका सवाल उठाउने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम परिषद्ले गरिरहेको उनको भनाइ थियो। उनले आगामी दिनमा परिषद्ले अझ प्रभावकारी र सशक्त रूपमा काम गर्ने विश्वास व्यक्त गरे।
निवर्तमान अध्यक्ष सन्दिप चापागाईले आफू कक्षा ८ मा अध्ययन गर्दादेखि नै बाल परिषद्मा आबद्ध भएको स्मरण गर्दै प्रदेश अध्यक्षको जिम्मेवारीसम्म पुग्न पाउँदा खुसी लागेको बताए। नेतृत्वको पदमा पुग्नुभन्दा त्यसको जिम्मेवारी पूरा गर्नु चुनौतीपूर्ण हुने उल्लेख गर्दै उनले त्यसका लागि निरन्तर प्रयास, प्रतिबद्धता र समर्पण आवश्यक रहेको बताए।
कार्यक्रममा मन्त्रालयकी महिला विकास अधिकृत विष्णु चापागाईले स्वागत मन्तव्य राखेकी थिइन्। परिषद्का सहसचिव अभिषेक पौडेलले दुई वर्षे कार्यकालमा भएका गतिविधिको समीक्षा तथा प्रगति विवरण प्रस्तुत गरेका थिए। सदस्य कुशुम रेग्मीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष एलिशा गैरे र सचिव गणेश वाग्लेले गरेका थिए।













