पोखरा। नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति एवं अधिवेशन मूल आयोजक समितिका संयोजक मेखलाल श्रेष्ठले प्रदेश अधिवेशनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
श्रेष्ठका अनुसार मंसिर ५ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा अधिवेशनको उद्घाटन समारोह हुनेछ। उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष तथा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। मंसिर ६ गते पोखरा महानगरपालिका–९ बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा बन्दसत्र तथा निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा गठित केन्द्रीय तयारी समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गण्डकी प्रदेशमा प्रदेशस्तरीय अधिवेशन हुन लागेको हो।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। प्रदेशका ३६ निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ जना प्रदेश प्रतिनिधि तथा १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ।
त्यसैगरी ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, ८५ स्थानीय तहका पार्टी सभापति तथा प्रदेश सभापतिबाट मनोनीत ४० जना प्रतिनिधिसहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि र प्रदेश तथा संघीय सांसदहरूको सहभागिता रहने श्रेष्ठले जानकारी दिए।
यसैबीच, गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल रामकृष्ण, स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा गीता गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको आयोजकले जनाएको छ।
बाँकी जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि नै सम्पन्न गर्ने तयारी गरिएको केन्द्रिय सदस्य गुरु बरालले जानकारी दिए । नवलपुरमा कात्तिक २८, लमजुङमा मंसिर १, तनहुँमा मंसिर २ तथा बागलुङ र गोरखामा मंसिर ३ गते जिल्ला अधिवेशनको मिति तोकिएको छ। मुस्ताङमा पनि यथाशीघ्र अधिवेशन सम्पन्न गर्न गृहकार्य भइरहेको जनाइएको छ।
प्रदेश अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्री चयन हुनेछन्। त्यस्तै प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी समूहबाट १७ जना सदस्य चयन हुने व्यवस्था रहेको छ।
अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहेका अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति गठन गरिएको छ।
अधिवेशन सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए। उक्त खर्च प्रतिनिधिहरूको रजिस्ट्रेसन शुल्क, पदाधिकारी तथा सदस्य पदका उम्मेदवारको उम्मेदवारी दर्ता शुल्क र पार्टीका नेता तथा शुभचिन्तकबाट प्राप्त स्वैच्छिक सहयोगबाट व्यवस्थापन गरिने आयोजकले जनाएको छ।
अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न उपसभापति मेखलाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।













