पोखरा । पोखराका युवा व्यवसायी होम गुरुङले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न पाउने वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको द्वितीय उपाध्यक्ष तथा कास्की लोकदोहोरी व्यवसायी समितिको संस्थापक अध्यक्ष रहेका गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक गरेको खुला पत्रमा पोखराको पर्यटन प्रवर्द्धन, मौलिक लोकसंस्कृतिको संरक्षण तथा युवा रोजगारी सिर्जनाका लागि रात्रिकालीन व्यवसाय सञ्चालनको समय बढाउनुपर्ने माग गरेका हुन्।
उनले पोखरा प्राकृतिक सौन्दर्यका साथै मौलिक लोकसंस्कृति, लोकगीत, दोहोरी र नेपालीपनका कारण पनि देश तथा विदेशमा परिचित रहेको उल्लेख गरेका छन्। यही सांस्कृतिक पहिचानलाई जोगाउँदै पर्यटकलाई नेपाली मौलिक गीत–संगीतमार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दोहोरी साँझलगायत रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेको उनको भनाइ छ।
खुला पत्रमा गुरुङले रात्रिकालीन व्यवसायीहरूले राज्यलाई नियमानुसार कर तथा राजस्व बुझाउँदै आएको र सयौँ युवालाई स्वदेशमै रोजगारी प्रदान गरिरहेको उल्लेख गरेका छन्। पर्याप्त समयसम्म व्यवसाय सञ्चालन गर्न नपाउँदा लगानी, रोजगारी र व्यवसायको दिगोपनमा प्रत्यक्ष असर परेको उनले बताएका छन्।
‘आज धेरै नेपाली युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका बेला हामी यही देशमा लगानी गरेर युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रयासमा छौँ,’ उनले खुला पत्रमा लेखेका छन्।
उनले पोखराको पर्यटकीय महत्व, स्थानीय संस्कृति, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई ध्यानमा राख्दै रात्रिकालीन व्यवसाय २४ घण्टा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्न तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीसमक्ष आग्रह गरेका छन्।
व्यवसायीहरूले सरकारसँग कुनै विशेष सुविधा नभई राज्यलाई कर तिरेर, कानुनको पूर्ण पालना गर्दै सुरक्षित र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्ने अवसर मात्र खोजेको गुरुङको भनाइ छ।
रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न दिइए पर्यटकले थप सेवा तथा मनोरञ्जन पाउने, पोखराको रात्रिकालीन पर्यटन विस्तार हुने, नेपाली लोकसंस्कृतिको संरक्षणमा सहयोग पुग्ने र हजारौँ युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने उनको विश्वास छ।
‘हामी व्यवसाय मात्र चलाउन चाहँदैनौँ, पोखराको पर्यटन, नेपाली लोकसंस्कृति र युवाको भविष्य निर्माणमा पनि योगदान दिन चाहन्छौँ,’ गुरुङले खुला पत्रमार्फत उल्लेख गरेका छन्।














