पोखरा, २३ कार्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत सोमबार देशभर श्रद्धा, भक्तिभाव र उल्लासका साथ गाईपूजा मनाइएको छ। तिहारको महत्वपूर्ण दिनका रूपमा मनाइने गाईपूजामा गाईलाई मिठामिठा परिकार खान दिएर, माला लगाइदिएर तथा पूजा गरी सम्मान गरिएको छ। पोखरामा आयोजित गाईपूजामा स्थानीय बासिन्दासँगै विदेशी पर्यटकसमेत सहभागी भएका छन्।
हिन्दू धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। गाईको दूध आमाको दूधसरह पोषिलो हुने विश्वासका कारण गाईलाई मातृत्व र पोषणको प्रतीकका रूपमा सम्मान गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैलीमा महत्वपूर्ण मानिन्छन्।
गाईपूजाका अवसरमा गाईलाई नुहाइदिने, निधारमा टीका लगाइदिने, माला पहिर्याउने र विभिन्न परिकार खान दिने चलन छ। घरघरमा गाईको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिएको छ।
पोखरामा गाईपूजामा विदेशी पर्यटकको सहभागिताले नेपाली मौलिक संस्कृति र धार्मिक परम्पराप्रति उनीहरूको चासोसमेत उजागर गरेको छ। पर्यटकहरूले स्थानीय समुदायसँगै गाईपूजाको अवलोकन तथा सहभागिता जनाउँदै नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाएका छन्।

नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने चलन रहेको बताइन्छ। धार्मिक तिथिको गणना र स्थानीय परम्पराअनुसार गाईपूजाको समय फरक पर्न सक्ने जानकारहरू बताउँछन्।
यसअघि तिहारको अवसरमा आइतबार साँझ पोखरासहित देशभर घरघरमा दीपावली गरी धनधान्यकी देवी लक्ष्मीको स्वागत गरिएको थियो। साँझदेखि नै टोल तथा बस्तीहरूमा भैलो खेल्ने क्रमसमेत सुरु भएको थियो। आइतबार बिहान कुकुर तिहार मनाइएको थियो भने शनिबार काग तिहार परेको थियो।
तिहारअन्तर्गत अब मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा नेवार समुदायको म्हपूजा मनाइनेछ। यसै दिनदेखि नेपाल संवत् ११४७ समेत सुरु हुँदैछ।
यमपञ्चकको अन्तिम दिन बुधबार कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम रहेको छ।
धार्मिक आस्था, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको तिहारले नेपाली समाजमा पुस्तौँदेखि चलिआएको मौलिक परम्परालाई निरन्तरता दिँदै आएको छ।













