पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा हुँदै आएको भाइटिका महोत्सवको १९औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना हुँदै आएको महोत्सव यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार महोत्सव कार्तिक २५ गते भाइटीकाका दिन दिउँसो ३ बजेदेखि पोखराको लेकसाइडस्थित होटल पौवामा आयोजना हुनेछ।

विदेशी पर्यटकलाई नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइलाई घरमा जसरी भाइटीका लगाउने गर्छन्, त्यसैगरी आत्मीय र पारिवारिक वातावरणमा टीका लगाएर नेपाली संस्कृतिको अनुभूति गराउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष सुवेदीले बताए।

उनका अनुसार संघले यसअघि १८ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। महोत्सवप्रति विदेशी पर्यटकको आकर्षण र सहभागिता बढ्दै गएकाले यसलाई निरन्तरता दिइएको हो।

यस वर्षको महोत्सवमा करिब १०० देखि २०० जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ। हालसम्म ५० जनाले सहभागिताका लागि बुकिङ गरिसकेको अध्यक्ष सुवेदीले जानकारी दिए।

महोत्सवले विदेशी पर्यटकलाई तिहार पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराउनुका साथै नेपाली परम्परासँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

महोत्सवमा सहभागी विदेशी पर्यटकलाई काग तिहारदेखि भाइटीकासम्म मनाइने तिहारका विभिन्न पक्षबारे जानकारी गराइनेछ। त्यसपछि नेपाली दिदीबहिनीबाट सप्तरङ्गी टीका लगाइदिने, सेलरोटी लगायतका परम्परागत परिकार खुवाउने तथा देउसी–भैलो प्रस्तुत गरी सांस्कृतिक मनोरञ्जन प्रदान गरिनेछ।

अध्यक्ष सुवेदीले महोत्सव प्रभावकारी बन्दै गएको र यसकै कारण कतिपय विदेशी पर्यटक तिहारको समयमा पुनः पोखरा आउने गरेको तथ्याङ्क आफूहरूसँग रहेको दाबी गरे।

उनका अनुसार यस्ता कार्यक्रमले पर्यटकलाई पोखरामा पटक–पटक आउन, बसाइ अवधि लम्ब्याउन तथा विशेषगरी तिहारको समयमा पोखरा भ्रमण गर्ने वातावरण बनाउन सहयोग पुर्‍याउँदै आएको छ।

पोखराको पर्यटनलाई केवल प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिमा मात्र सीमित नराखी नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वसँग जोड्ने प्रयासका रूपमा भाइटिका महोत्सवलाई लिइएको छ।

विदेशी पर्यटकलाई नेपाली परिवारको आत्मीयता, दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध र तिहारको सांस्कृतिक महत्व बुझाउने माध्यम बनेको यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवलाई सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले यस वर्षको कार्यक्रम पनि भव्य र स्मरणीय हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0