पोखरा, २३ कात्तिक । पोखरा महानगरपालिका–१५, मझुवास्थित पोखरा गौशाला (गौ सेवा आश्रम) मा ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को अवसर पारेर आयोजना गरिएको महोत्सवको उद्घाटनसँगै सोमबार विधिपूर्वक गाई पूजा गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सांसद भक्त कुँवरले गौमाताको संरक्षण र सम्मान हिन्दु धर्म तथा संस्कृतिको संरक्षणसँग जोडिएको बताए । उनले छाडा तथा बेवारिसे अवस्थामा रहेका गाईको संरक्षण गर्नु धार्मिक आस्था मात्र नभई सामाजिक र मानवीय दायित्वसमेत भएको बताए । गौशालाले गाईको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो ।

गौशालाका परिकल्पनाकार नन्दगोपाल दासले स्थानीय क्षेत्रमा छाडा छोडिएका तथा बेवारिसे अवस्थामा रहेका गाईको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताए  । उनका अनुसार सडक तथा सार्वजनिक स्थानमा असुरक्षित अवस्थामा रहेका गाईलाई आश्रय, आहार र आवश्यक हेरचाह उपलब्ध गराउने अवधारणासहित गौशाला सञ्चालनमा ल्याइएको हो ।

उनले गौशालालाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न समुदाय, धार्मिक सङ्घसंस्था तथा दाताहरूको सहयोग अपरिहार्य रहेको बताउदै गौशाला पूर्ण रूपमा दाताले उपलब्ध गराउने पराल, चोकर, दाना तथा अन्य खाद्यान्न र आर्थिक सहयोगमा सञ्चालन हुँदै आएकोजानकारी दिए  ।

महोत्सवका क्रममा गौसेवाप्रेमी, धार्मिक व्यक्तित्व, समाजसेवी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले नगद तथा जिन्सी सहयोग गरेका छन् । पुम्दीकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष एवं समाजसेवी चन्द्रकान्त बरालले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरे।

कार्यक्रम संयोजक लक्ष्मण पौडेल (हरिओम गुरु) का अनुसार हालसम्म करिब तीन लाख रुपैयाँ नगद सङ्कलन भएको जानकारी दिए । यसैगरी गाईका लागि आवश्यक पराल, गुण, दाना, चोकर, पिठो तथा विभिन्न प्रकारका फलफूलसमेत सहयोगस्वरूप प्राप्त भएको बताउदै भाइटिकाको दिनसम्म चल्ने महोत्सवले सर्वसाधारणलाई गौशालामै पुगेर गाईको पूजा, दर्शन तथा गौसेवा गर्ने अवसर प्रदान गरेको उनको भनाई थियो ।

महोत्सवमा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदुनाथ अधिकारी गौशालाले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बेवारिसे गाईको संरक्षण अभियानलाई अघि बढाएको बताए ।

वरिष्ठ अधिवक्ता महेन्द्रमान वेथितले स्थानीय समुदाय, दाता तथा सामाजिक सङ्घसंस्थाको निरन्तर सहयोग जुट्न सकेमा गौशालालाई अझ व्यवस्थित बनाउँदै गाईको संरक्षण र सेवामा प्रभावकारी काम गर्न सकिने उल्लेख गरे  ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) की प्रनिता दिदी र शैलेश भाइजीले गौसेवा धार्मिक तथा आध्यात्मिक चेतनासँगै मानवीय सेवाभावको विषय भएको बताइन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले गौशालाले बेवारिसे तथा छाडा गाईको संरक्षणमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए  । उनले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाइएको यस्तो अभियानको प्रचारप्रसार र प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

गौशाला सञ्चालक समितिका अध्यक्ष ललित कुँवरले तिहारमा गाईलाई धार्मिक आस्थाका साथ पूजा गर्ने परम्परालाई सहज र व्यवस्थित बनाउन महोत्सव आयोजना गरिएको बताए ।

उनले तिहारको भाइटिकासम्म गौशालामा उपस्थित भई गाईको पूजा तथा संरक्षण अभियानमा सहभागी हुन श्रद्धालु र सर्वसाधारणलाई आग्रह गरे।

यस अवसरमा दाहाल समाजकी कार्यवाहक अध्यक्ष सरस्वती दाहालको नेतृत्वमा आएको टोलीले सेलरोटी तथा प्रसाद वितरण गरेको थियो । सहभागी भक्तजनले गाईको पूजा गर्नुका साथै गौशालामा आश्रित गाईको संरक्षणका लागि सहयोगसमेत गरेका थिए ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा गाई पूजा, दर्शन, गौसेवा तथा सहयोग सङ्कलनका कार्यक्रम जारी रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0