पोखरा । विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा महिला समितिका दिदीबहिनीहरूले समाजका कार्यसमिति सदस्य, संरक्षक तथा सल्लाहकार दाजुभाइहरूलाई टीका, माला र टोपी लगाइदिँदै तिहारको शुभकामना व्यक्त गरेका थिए।

नेपालीहरूको दोस्रो ठूलो पर्वका रूपमा रहेको तिहार दाजुभाइप्रति विशेष सम्मान, प्रेम र सद्भाव प्रकट गर्ने पर्वसमेत भएकाले महिला समितिले वि.सं.२०८१ सालदेखि हरेक वर्ष यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको महिला समितिकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक पद्मा लाम्गादे घतानेले जानकारी दिए। उनले यस कार्यक्रमले दाजुभाइ तथा दिदीबहिनीबीच आपसी आत्मीयता, सद्भाव र एकतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माले समाजले लामो ऐतिहासिक पृष्ठभूमि बोकेको उल्लेख गर्दै समाजको विकास, एकता र संस्थागत गतिविधिलाई प्रभावकारी बनाउन महिला समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले दीपावली तथा तिहार २०८३ को अवसरमा समाजको भवन निर्माण कार्यमा सहयोग जुटाउने उद्देश्यले यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म देउसी–भैलो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । समाजको आफ्नै भवनलाई थप व्यवस्थित र निर्माण कार्यलाई पूर्णता दिन सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा समाजका संरक्षक होमकुमारी गडाल, माया विश्वकर्मा र प्रेम लाम्गादेलाई समाजले आयोजना गर्ने विभिन्न गतिविधिमा विशेष सहयोग र योगदान पुर्‍याइएकोमा सम्मान गरिएको थियो।

 समाजका सदस्य, दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता महिला समितिकी अध्यक्ष कमला सुनारले गरेकी थिइन् भने सञ्चालन समितिकी महासचिव रिमा विश्वकर्माले गरिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0