पोखरा । पोखरा पर्यटन परिषद् र यसमा आबद्ध १४ वटा संस्थाको संयुक्त आयोजनामा शनिबार पोखरामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका–६ स्थित रत्नमन्दिर परिसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र पर्यटन क्षेत्रका समस्याबारे धारणा राखेका थिए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ पुस्तालाई परम्परा, संस्कार र पारिवारिक सम्बन्धसँग जोड्नुपर्नेमा जोड दिए ।
आधुनिक प्रविधिको बढ्दो प्रयोगका कारण बालबालिकाले आफ्नै घरमा प्रयोग हुने वस्तु तथा सामग्री र पुराना रीतिरिवाजबारे समेत पर्याप्त जानकारी पाउन नसकेको उनले बताए । नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे जानकारी दिन घरपरिवारमै कथावाचन अर्थात् ‘स्टोरी टेलिङ’को अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।
प्रमुख आचार्यले पोखरामा एक साताको अवधिमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको उल्लेख गर्दै सवारीसाधन चलाउँदा हतार नगर्न आग्रह गरे । चाडपर्वका समयमा तीव्र गतिमा सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नबोक्न उनले सबैलाई अनुरोध गरे । त्यस्तै, कात्तिक ८ गते पोखरामा महिला पर्यटन व्यवसायीले आयोजना गर्ने कार्यक्रमलाई सबै मिलेर भव्य बनाउनुपर्ने उनले बताए ।
पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताललगायत पोखराका प्रमुख पर्यटकीय क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन हुन नसकेको गुनासो गरे । केन्द्र र प्रदेश सरकारले पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रका लागि पर्याप्त बजेट नछुट्याएको उनको भनाइ थियो । पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको र धेरै नागरिकको रोजगारी तथा जीविकोपार्जन यसैमा निर्भर रहेको अवस्थामा राज्यले पर्याप्त ध्यान दिन नसक्नु विडम्बनापूर्ण भएको उनले बताए । पर्यटन व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा वडाध्यक्ष भट्टराईले जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले रत्नमन्दिर परिसरमा कार्यक्रम आयोजना गर्न पाउनु ऐतिहासिक अवसर भएको बताए । यसअघि कुनै पनि व्यावसायिक संस्थाले उक्त परिसरमा यस्ता कार्यक्रम आयोजना नगरेको उनको भनाइ थियो । पर्यटन व्यवसायीको पहलमा रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिए पनि अपेक्षाअनुसार यसको प्रवर्द्धन र उपयोग हुन नसकेको अध्यक्ष भुजेलले बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षद्वय गणेशबहादुर भट्टराई र डम्बरबहादुर केसी, नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारी तथा महासचिव मिलन तिवारीलगायतले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र व्यवसायीका समस्याबारे धारणा राखेका थिए । पोखरा पर्यटन परिषद् र आबद्ध संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रमले पर्यटन व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
















