पोखरा । विश्व खाद्य दिवसको अवसरमा पोखरामा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका–१४ काे ज्येष्ठ नागरिक भजन समूहले जितेको छ। बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पोखरा–१४ चाउथेको ज्येष्ठ नागरिक भजन समूह प्रथम भएको हो।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा पोखरा–६ को कृषि सञ्जाल दोस्रो, पोखरा–२४ को गुन्टेचौर कृषक समूह तेस्रो तथा पोखरा–२५ को कृषि सञ्जालले सान्त्वना स्थान हासिल गरे । प्रतियाेगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकहरूले अब व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताए। विश्व खाद्य दिवसले खाद्य सुरक्षाको महत्त्व उजागर गर्ने बताउँदै उनले काेहि पनि खानाको अभाव रहन नपर्ने अवस्था सिर्जना गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। रैथाने बालीको प्रदर्शनी र कृषि पर्यटन गीत प्रतियोगिताले किसानलाई प्रोत्साहन गर्नुका साथै स्थानीय बीउ संरक्षणमा सहयोग पुर्याउने उनको भनाइ थियो।
पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत राजन पौडेल, कृषि विज्ञ तथा पूर्वकृषि सचिव वासुदेव रेग्मी, पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्व खाद्य दिवस र कृषि क्षेत्रको महत्त्वबारे धारणा राखेका थिए।
कार्यक्रम संयोजक घनश्याम पाण्डेलले कृषि क्षेत्रको प्रवर्धन, किसानको योगदानको सम्मान र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले भोटेकोसीमा आएको बाढीका कारण तीजमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएपछि विश्व खाद्य दिवसका अवसरमा प्रतियोगिता गरिएको जानकारी दिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली र पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।
प्रतियोगिताअघि कृषि झाँकीसहित र्याली निकालिएको थियो। गण्डकी प्रदेशसभा भवनको गेटबाट सुरु भएको र्याली पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेट हुँदै गण्डकी प्रज्ञा प्रतिष्ठान पुगेको थियो। कार्यक्रममा दशैँलक्षित सुपथ मूल्य पसल र रैथाने कृषि उपजको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो। साल्ट ट्रेडिङ कर्पोरेसनसँगको समन्वयमा खाद्यान्न सहुलियत मूल्यमा बिक्री गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पशुपति शर्मा, पूर्वअध्यक्ष प्रजापति पराजुली र गण्डकी प्रदेश अध्यक्ष माया गुरुङलगायतको प्रस्तुति रहेको थियो। प्रतियोगिताको निर्णायक संयोजक प्रजापति पराजुली थिए भने निर्णायकमा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जीवन दाहाल र कृषि प्राविधिक दिव्या बराल रहेका थिए।
कार्यक्रमलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, विभिन्न वडा कार्यालय, हिमश्री फुड्स प्रालि, सुजल डेरी, कर्मचारी बेक्स एन्ड फुड्स प्रालि, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा अन्य संघसंस्थाले सहयोग गरेका थिए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र गण्डकी प्रज्ञा प्रतिष्ठान कार्यक्रमका प्रवर्धक थिए।
















