पोखरा । गन्धर्व समुदायको मौलिक कला, सङ्गीत र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। असोज २५ गते आइतबार पोखरामा आयोजना हुने कार्यक्रममा ८९ जना कलाकारले १५ वटा विभिन्न प्रस्तुतिमार्फत आफ्नो कला प्रदर्शन गर्ने भएका छन्।
प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाका अनुसार कार्यक्रममा गन्धर्व समुदायका मौलिक गीत, सङ्गीत, नृत्य तथा सारङ्गी वादनलाई विशेष प्राथमिकता दिइनेछ। कार्यक्रममा सम्मरबहादुर गायक, कृष्णबहादुर गन्धर्व, हेमन्त कान्छा रसाइलीलगायत कलाकारले प्रस्तुति दिनेछन्।
पोखरा उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे सुरु हुने कार्यक्रम करिब तीन घण्टासम्म सञ्चालन हुनेछ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
गन्धर्व समुदायको जीवनशैली, इतिहास, परम्परा र सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रमको तयारी गरिएको हो। कार्यक्रममा पोखराको बाटुलेचौर, हेम्जा तथा लेखनाथ–बढहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति समेटिनेछन्।
मौलिक तरबार नृत्य, तल्लो गगनगौडाका गन्धर्व कलाकारका झ्याउरे तथा पुराना सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप विशेष बनाउने आयोजकको अपेक्षा छ। सारङ्गी, मादल र बाँसुरीका धुनसँगै युवापुस्तालाई लक्षित सारङ्गी वादन तथा गायन पनि प्रस्तुत गरिनेछ।
गन्धर्व समुदायमा पुस्तौँदेखि प्रचलित पुर्ख्यौली गीत तथा विभिन्न घटनामा आधारित गीतका साथै पछिल्लो भोटेकोसी बाढीपहिरो घटनासँग सम्बन्धित गीतसमेत कार्यक्रममा समावेश गरिने जनाइएको छ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘कथा सारङ्गी’ शीर्षकमा छलफल सत्रसमेत सञ्चालन हुनेछ। सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठको सहजीकरणमा हुने छलफलमा हर्क गायक, जानुका गायक र गोविन्द गायक सहभागी हुनेछन्।
छलफलले गन्धर्व समुदायको सांस्कृतिक इतिहास, सारङ्गीसँग जोडिएको जीवनयात्रा, कलाकारका अनुभव तथा मौलिक सङ्गीतको संरक्षणका विषयलाई उजागर गर्ने अपेक्षा गरिएको छ। यसले गन्धर्व कलाकारका अनुभव र सङ्घर्षलाई सार्वजनिक बहसमा ल्याउँदै समुदायको सांस्कृतिक योगदान बुझ्न सहयोग पुर्याउने विश्वास आयोजकको छ।
पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जीवन दाहालले कार्यक्रमलाई बृहत् र प्रभावकारी बनाउन तयारी गरिएको बताए। गन्धर्व समुदायका मौलिक कला, सङ्गीत र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै तिनको संरक्षण तथा प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। कुलपतिमा सरस्वती प्रतीक्षा आएपछि प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो।
प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलनलगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ। यसअघि असोज १० गते आयोजना गर्ने तय भएको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम मौसमका कारण स्थगित गरिएको थियो।
















