पोखरा । कास्कीमा राष्ट्रिय शिक्षा दिवस २०८१ मनाइएको छ। जिल्ला शिक्षा समिति एवम् शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा आइतबार विशेष समारोहको आयोजना गरि सो दिवस मनाइएको हो।
कार्यक्रमको प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले उद्घाटन गरेका थिए। वैरागीले शिक्षालाई सकारात्मक संस्कार सँग जोडेर व्यवहारिक शिक्षा बनाउने तर्फ सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताए । शिक्षा प्राप्त व्यक्ति संसारको जुनसुकै कुनामा पुगेपनि अब्बल जनशक्तिको रूपमा प्रतिष्पर्धा हुनेगरि पाठ्यक्रम निर्माण गर्न आफूहरूको जोडबल रहेको भन्दै व्यवसायिक आवश्यकताको आधारमा शिक्षा नीति बनाउनेतर्फ लागेको बताए ।
जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शिक्षा दिवसलाई सप्ताहव्यापीरूपले देशैभरी मनाउने नेपाल सरकारको निर्णय बमोजिम कास्कीमा आज मनाइएको जानकारी दिए। पौडेलले दक्ष आवश्यक स्वदेशमै जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताए।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय गणेशमान गुरुङ र प्रकाश बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, गाउँपालिका राष्ट्रिय महा सङ्घ गण्डकीका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सामाजिक विकास मन्त्रालय गण्डकीका निमित्त सचिव तोयनाथ लम्साल, शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका प्रसाद आचार्य, विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य, पेशागत शिक्षक सङ्घ सङ्गठनका तर्फबाट मनिराम कडेल, शाखा अधिकृत भरतराज बराल सहितले मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा जिल्लामा एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई सम्मान र वार्षिक प्रकाशन शैक्षिक दर्पणको विमोचन गरिएको थियो भने विभिन्न बिद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
नेपाल सरकारले “ज्ञान, बिज्ञान,सीप उद्यम र मौलिकता :साझेदारी र प्रणालीगत सक्षमता “यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य निर्धारण गरेको छ। जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।










