पोखरा। पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको सातौँ दिन सकिँदा दुई करोडभन्दा बढी रकम संकलन भएको छ। आयोजकका अनुसार महायज्ञ लक्ष्य उन्मुख भएको छ। महायज्ञमा भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

महायज्ञ धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा अघि बढेपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ। पोखरा–५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीरहरू महायज्ञमा सहभागी भइरहेका छन्। धार्मिक आस्था, सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ सञ्चालन गरिएको समिति सचिव लक्ष्मण कोइरालाले बताए।

प्रस्याङ बगैचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिव पराजुलीका उनका अनुसार महायज्ञमा संकलित रकममध्ये केही हिस्सा हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगमा प्रदान गरिनेछ। उनले मन्दिर पुनःनिर्माणको अभियानमा वडावासीको अभूतपूर्व एकता देखिएको र छिमेकी वडाबाट समेत सहयोगको क्रम बढिरहेको बताए।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। भक्तजन कथा श्रवणसँगै भजन–कीर्तन, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्।
महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ।

मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहित आकर्षक शिवालयका रूपमा पुनःनिर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
सन्तानेश्वर महादेवलाई सन्तान प्राप्ति र कल्याणको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लीलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0