पोखरा । अन्तरलिङ्गी व्यक्तिले भोग्दै आएका सामाजिक विभेद, पारिवारिक दबाब, कानुनी अधिकार तथा समाजको दृष्टिकोणबारे जानकारी गराउने उद्देश्यले पोखरामा सचेतनामूलक कार्यशाला आयोजना गरिएको छ ।
क्याम्पेन फर चेञ्जको आयोजनामा आइतबार नेपाल परिवार नियोजन संघ कास्कीको कार्यसमिति तथा कर्मचारीलाई लक्षित गरी कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा क्याम्पेन फर चेञ्ज गण्डकीका अधिकृत कमल कञ्चन कार्कीले अन्तरलिङ्गी व्यक्तिका समस्या, उनीहरूले भोग्नुपरेका पीडा, समाजको दृष्टिकोण तथा कानुनी व्यवस्था कार्यान्वयनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्कीले विभिन्न उदाहरण प्रस्तुत गर्दै अन्तरलिङ्गी व्यक्तिले परिवारदेखि विद्यालय, रोजगारी र समाजसम्म विभिन्न किसिमका विभेद सामना गर्नुपरेको बताए । कतिपय अवस्थामा परिवारले नै अन्तरलिङ्गी भएको व्यक्तिलाई घरबाहिर आउन नदिने, विद्यालय नपठाउने तथा उनीहरूको पहिचान बाहिर नआओस् भन्ने प्रयास गर्ने गरेको उनले बताए ।
अन्तरलिङ्गी भएकै कारण रोजगारी तथा कोठा भाडामा लिनसमेत समस्या हुने गरेको उल्लेख गर्दै कार्कीले यस्ता विभेद अन्त्यका लागि परिवार र समुदायबाटै सकारात्मक सोचको विकास आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले अन्तरलिङ्गी व्यक्तिका विषयमा समाजमा पर्याप्त जानकारी र चेतना आवश्यक रहेको बताए । उनले यस विषयमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै समुदाय केन्द्रित जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अन्तरलिङ्गी व्यक्तिका विषयमा खुलेर कुरा गर्ने वातावरण अझै निर्माण भइनसकेकाले सचेतना अभिवृद्धिको काम चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । सबै क्षेत्रसँग सहकार्य र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।
कास्की जिल्ला अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता नारायण शर्माले अन्तरलिङ्गी व्यक्तिका विषयमा घरपरिवारदेखि समुदाय, वडा र स्थानीय तहसम्म जानकारी फैलाउन सबैको दायित्व रहेको बताए । नेपालको संविधानले समानताको दृष्टिले तुलनात्मक रूपमा राम्रो कानुनी व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै केही समस्या रहेको उनले बताए ।
कार्यशालामा २० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ प्रबन्धक नवराज तिवारीले गरेका थिए ।
क्याम्पेन फर चेञ्जले अन्तरलिङ्गी लगायत विभिन्न समुदायका व्यक्तिलाई मानसिक परामर्शमा सहयोग गर्दै आएको जनाएको छ । संस्थाले विद्यालय, आमा समूह, वडा तथा गैरसरकारी संस्थालगायतका क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्तरलिङ्गी व्यक्तिको विशेषताबारे जानकारी दिने तथा शैक्षिक सामग्रीमार्फत समुदायलाई बुझाउने कामसमेत गर्दै आएको आयोजकले जनाएका छन् ।















