पोखरा। पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको पाँचौँ दिन सकिँदा १ करोड ५३ लाख रुपैयाँ सङ्कलन भएको छ।
महायज्ञको पाँचौँ दिन आइतबार मात्रै २६ लाख ५० हजार रुपैयाँ सहयोग सङ्कलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए। उनका अनुसार महायज्ञ सञ्चालन हुनुअघि नै मन्दिर निर्माणका लागि ७७ लाख रुपैयाँ सङ्कलन भइसकेको थियो।

पाँचौँ दिन पोखरा–१४ स्थित विश्वकर्मा सप्लायर्सले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। त्यस्तै नारायण ढुंगाना, लक्ष्मण बराल, मैनादेवी पौडेल र प्रेमप्रसाद चापागाईंले एक लाखभन्दा बढी रकम सहयोग गरेका छन्।

यसैगरी जमुनादेवी पराजुलीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, फडिन्द्रप्रसाद पराजुलीले १ लाख १ हजार, हरिप्रसाद पराजुलीले १ लाख १ हजार, शिवप्रसाद पौडेलले १ लाख ५ सय ५५ रुपैयाँ तथा टुल्कीदेवी गौतमले ७५ हजार ५ सय ७५ रुपैयाँ सहयोग गरेका छन्। यसैगरी महायज्ञ प्रचार प्रसार समिति संयोजक लक्ष्मण बराल ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। भक्तजनहरू कथा श्रवणसँगै भजन–कीर्तन तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्।

महायज्ञ प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञमा सङ्गीतमय श्रीमद्भागवत कथा, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

अध्यक्ष शिवप्रसाद पराजुलीले सोमबार अजा एकादशीसमेत परेकाले विशेष ढङ्गले महायज्ञ सञ्चालन गरिने बताए। उनले उक्त विशेष दिनमा महायज्ञमा सहभागी हुन आग्रह गरे। महायज्ञबाट सङ्कलित रकम मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ। केही रकम बाढीपीडित राहत कोषमा समेत जम्मा गरिने आयोजकले जनाएको छ।


मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहित आकर्षक शिवालयका रूपमा पुननिर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहेको छ। स्थानीय लीलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0