पोखरा । पोखरा–५ प्रस्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्वको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भदौ १७ गते बुधबारदेखि सुरु हुने महायज्ञको तयारी पूरा भएको आयोजकले जनाएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना हुने महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ।

महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा प्रवचन, विभिन्न देवलिला तथा धार्मिक कार्यक्रम आयोजना गरिनेछ। महायज्ञका प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका छन्।

पण्डित पौडेलले महायज्ञ पितृउद्धार तथा आध्यात्मिक शान्तिका लागि आयोजना गरिएको बताए। धार्मिक गतिविधिमा सहभागी हुँदा मानिसले मानसिक शान्ति तथा ध्यानको अनुभूति गर्न सक्ने उनको भनाइ छ। उनले सम्पूर्ण भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरेका छन्।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीले सन्तानेश्वर महादेव मन्दिर निर्माण अभियानलाई सबैको साझा धार्मिक अभियानका रूपमा अघि बढाउन महायज्ञ आयोजना गरिएको बताए। मन्दिर निर्माणसँगै प्रस्याङको धार्मिक पहिचान, संस्कार र संस्कृति संरक्षणमा समेत योगदान पुग्ने उनको विश्वास छ।

मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालय निर्माणको काम अघि बढाइएको छ। निर्माणाधीन मन्दिरलाई पूर्णता दिन महायज्ञमार्फत श्रद्धालु तथा शुभेच्छुकबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको छ।

महायज्ञको अवसरमा भदौ १७ गते बिहान शान्ति कलश यात्रा समेत आयोजना गरिने अध्यक्ष पराजुलीले जानकारी दिए।

प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले महायज्ञलाई धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको अभियानका रूपमा अघि बढाइएको बताए। उनले श्रद्धालु, स्थानीयवासी तथा शुभेच्छुकलाई परिवारसहित सहभागी भएर कथा श्रवण गर्न र मन्दिर निर्माण अभियानमा सहयोग गर्न आग्रह गरे।

महायज्ञबाट संकलन हुने रकममध्ये केही रकम भोटेकोशी बाढीपीडितलाई सहयोग गरिने बरालले जानकारी दिए।

सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहँदै आएको छ। मन्दिरको गर्भगृहमा रहेको शिलाको तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको छ। एउटै शिलामा शिव परिवारको आराधना गर्न सकिने भएकाले मन्दिरको धार्मिक महत्व विशेष रहेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0