पोखरा । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले चीनको सीमावर्ती क्षेत्रबाट आएको विनाशकारी भोटेकोशी बाढीपहिरोबाट प्रभावित तथा विस्थापित परिवारको राहतका लागि ७० हजार ८० रुपैयाँ सहयोग गरेको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालको आह्वानमा क्लबले आफ्ना लायन सदस्यहरूबाट स्वस्फूर्त रूपमा रकम संकलन गरी राहत कोषमा सहयोग गरेको हो । संकलित रकमको चेक लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका गभर्नर प्रजापति बास्तोलालाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
क्लबकी अध्यक्ष शान्ति सिग्देलले उक्त रकम विपद्का बेला लायन्सको सहभागिता र सामाजिक उत्तरदायित्व देखिने गरी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत जम्मा गर्न पहल गर्न सुझाव समेत दिइएको बताइन् ।
क्लबको वार्षिक कार्ययोजनाअनुसार भदौ महिनामा सञ्चालन गरिने ‘डिजास्टर प्रोग्राम’अन्तर्गत राहत रकम संकलन गरिएको हो। उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी क्लबका तृतीय उपाध्यक्ष लायन राजेश ढुंगानालाई दिइएको थियो।
राहत रकम संकलन अभियानमा क्लबका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको अध्यक्ष सिग्देलको भनाइ छ । उनका अनुसार अभियानमा संयोजक ढुंगानाले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्दै सबैभन्दा बढी रकम योगदान गरेका थिए ।
बाढीपहिरोजस्ता प्राकृतिक विपद्का समयमा पीडितको उद्धार तथा राहतमा सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएको भन्दै क्लबले आगामी दिनमा पनि मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। क्लबले विपद्को समयमा सहयोगका लागि स्वस्फूर्त रूपमा रकम उपलब्ध गराउने सम्पूर्ण लायन सदस्यहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।















