पोखरा । विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा ९औँ विश्वकर्मा कप–२०८३ वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। विश्वकर्मा पूजाको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिता आगामी असोज १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालभरिका जुनसुकै वडाले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
विश्वकर्मा समाज नेपालले विगत एक दशकदेखि विश्वकर्मा पूजाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्ष देशमा भएको जेन–जी आन्दोलनका कारण प्रतियोगिता आयोजना हुन नसकेपछि यस वर्ष पुनः निरन्तरता दिँदै नवौँ संस्करण आयोजना गर्न लागिएको हो।
विश्वकर्मा समुदायको पहिचान, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायका विभिन्न क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका केन्द्रीय अध्यक्ष बेलबहादुर विश्वकर्माले जानकारी दिए।
खेलकुदले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै खेलाडीको क्षमता विकास, स्वस्थ प्रतिस्पर्धा, अनुशासन र आपसी भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने समाजका खेलकुद संयोजक पिताम्बर सुनारले बताए।
प्रतियोगितामा नेपालभरिका इच्छुक वडाले आफ्नो प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउनेछन्। आयोजकले २० भन्दा बढी टिमको सहभागिता हुन सक्ने जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक वडा तथा टिमले भदौ ३१ गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ। आयोजकले देशभरिका इच्छुक वडा तथा खेलाडीलाई निर्धारित समयभित्र टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका क्रममा विश्वकर्मा समुदायको कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण वडा, खेलाडी, खेलप्रेमी, संघसंस्था, शुभेच्छुक तथा आम सर्वसाधारणलाई सहयोग र सहभागिताका लागि समाजका अध्यक्ष विश्वकर्माले आग्रह गरेका छन्।















