पोखरा । नेकपा एमालेका सचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विपद्बाट प्रभावित तथा पीडित नागरिकले तत्काल राहत पाउने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। नेकपा एमाले कास्कीले समसामयिक राजनीतिक तथा सामाजिक परिस्थितिबारे छलफल गर्न आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले दीर्घकालिन व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरे ।

देशमा समस्या पर्दा त्यसको पीडा महसुस गर्ने र जनताको दुःखमा साथ दिने पार्टीका रूपमा एमालेले आफ्नो सक्रियता अझ बढाउनुपर्ने उनको भनाइ थियो । विपद्का बेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडितको पक्षमा काम गर्नुपर्ने उनले बताए।

‘देशलाई दुख्दा एमालेलाई दुख्नुपर्छ, त्यसैले पार्टीको सक्रियता अझ बढी हुनुपर्छ,’ अधिकारीले भने। उनले पार्टीको सम्पूर्ण पङ्क्ति एकताबद्ध भएर जनताको बीचमा पुग्नुपर्नेमा जोड दिए।

एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहेका अधिकारीले अहिले जनताका कुरा धेरै सुन्नुपर्ने आवश्यकता रहेको बताए। जनताको हित र देशको हितमा हुने विषयलाई प्राथमिकताका साथ आत्मसात् गर्दै केन्द्रदेखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताले वडाकेन्द्रित कार्यक्रममार्फत जनतासँग जोडिनुपर्ने उनको भनाइ थियो।

उनले एमालेले सञ्चालन गरेको ‘मिसन पार्टी जागरण अभियान’ तल्लो तहसम्म अपेक्षित रूपमा पुग्न नसकेको भन्दै त्यसलाई पुनः प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए। पार्टी जागरण अभियानलाई पुनर्स्थापनाको कामका रूपमा समेत अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कास्कीले विपद् प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्दै प्रभावकारी काम गर्नुपर्ने बताउँदै अधिकारीले तत्कालको राहतसँगै दीर्घकालीन व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरे। विपद्बाट प्रभावित क्षेत्रमा लामो समयसम्म उपयोग हुने संरचना निर्माण तथा व्यवस्थापनमा समेत सहयोग गर्नुपर्ने उनले बताए।

अधिकारीले केन्द्रदेखि वडास्तरसम्म विपद् व्यवस्थापन प्रतिकार्य टोलीको व्यवस्था रहे पनि सरकारले त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको बताए। विपद्का बेला प्रतिकार्य टोलीलाई सक्रिय बनाउँदै आवश्यक व्यवस्थापनमा सरकार पनि प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले विपद्को कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्नुपर्ने बताउँदै सरकार र राजनीतिक दलबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

‘समसामयिक परिस्थिति र हाम्रो दायित्व’ विषयमा आयोजित भेलामा पछिल्लो समय देखिएको विपद् तथा चुनौतीपूर्ण परिस्थितिमा पार्टी पङ्क्‍तिको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

भेलामा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले केन्द्रको निर्देशनअनुसार कास्कीबाट आर्थिक, खाद्यान्नलगायत आवश्यक सामग्री सङ्कलन गरी सम्बन्धित प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार राहत सामग्री सङ्कलन गर्ने काम सोमबारदेखि सुरु गरिएको छ। एक–दुई दिनभित्रै संकलनको काम सम्पन्न गरी सम्बन्धित ठाउँमा पठाइनेछ। विपद्का बेला ढिलो गरी पठाइएको सहयोग प्रभावकारी नहुने भएकाले तीन दिनभित्रै सङ्कलन तथा पठाउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

अध्यक्ष अधिकारी क्षेत्रीले राहत संकलनमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैलाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे। विपद्का बेला पीडित नागरिकसम्म समयमै सहयोग पुर्‍याउनु पार्टीको सामाजिक दायित्वसमेत भएको उनको भनाइ थियो ।

भेलामा नेकपा एमाले कास्कीका इन्चार्ज जगत विश्वकर्मा, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामालगायतका नेताहरूले समसामयिक परिस्थिति, पार्टीको भूमिका तथा विपद् व्यवस्थापनमा कार्यकर्ताको जिम्मेवारीबारे धारणा राखेका थिए।

भेलाले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि दीर्घकालीन पुनःस्थापना तथा व्यवस्थापनका काममा समेत पार्टीको स्थानीय संरचनालाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0