पोखरा । रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउने उद्देश्यले पोखरामा भोलि विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
इनर ह्वील क्लब अफ डिष्ट्रिक ३५० नेपाल अन्तरगतका इनर ह्वील क्लब अफ अन्नपूर्ण, इनर ह्वील क्लब अफ पोखरा मिड–टाउन, इनर ह्वील क्लब अफ पोखरा, इनर ह्वील क्लब अफ न्युरोड पोखरा र इनर ह्वील क्लब अफ अन्नपूर्णा जुभेनाइल्स जोनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो।
अगस्ट ३० अर्थात् भोलि आइतबार बिहान ८ बजेदेखि पोखरा महानगरपालिका–१८ स्थित लभ्ली हिलमा कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र, पोखरा–८, सिमलचौरले प्राविधिक सहयोग गर्नेछ। त्यसैगरी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय र युथ लिग ग्रुप, लभ्ली हिल, पोखरा–१८ ले कार्यक्रमलाई सहयोग गर्ने जनाइएको छ।
आयोजकले स्वस्थ नागरिकलाई कार्यक्रममा सहभागी भएर रक्तदान गर्न आग्रह गरेका छन् । रक्तदानसँगै समुदायमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने र नियमित रक्तदानका लागि प्रेरित गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको उनीहरुको भनाइ छ।
सामाजिक संस्थाहरूले आयोजना गर्ने यस्ता कार्यक्रमले समुदायमा सेवाको भावना विकास गर्नुका साथै आवश्यक परेको समयमा रगतको उपलब्धता सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने भावनाका साथ आयोजना हुन लागेको कार्यक्रममा बढीभन्दा बढी स्वस्थ नागरिकको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।















