पोखरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा मानवीय सहायता प्रभावकारी बनाउन उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीकी सभापति उर्मिला खड्का भण्डारी, उपसभापति रमा कोइराला, उपमन्त्री डिल्लीराम बराल,उपकोषाध्यक्ष कालिदास सापकोटा, जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं जिल्ला शाखा कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्कालगायतको सहभागिता रहेको थियो।

कास्की रेडक्रसले तत्काल ३ लाख रुपैयाँ सहयोगसँगै आवश्यकता र परिस्थितिका आधारमा आगामी दिनमा राहत, उद्धार, स्वास्थ्य सेवा, शव व्यवस्थापन, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा चितवनका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थाप्रति बैठकले दुःख व्यक्त गर्दै विपद् प्रतिकार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा तत्कालीन राहत, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने रेडक्रसले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री डिल्लीराम बरालले विपद्को समयमा आवश्यकताअनुसार रेडक्रसका सम्पूर्ण मानवीय तथा सामाजिक सेवा संयन्त्र परिचालन गरिने जानकारी दिए।

उनका अनुसार खोज तथा उद्धारसँगै एम्बुलेन्स, शववाहन, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा अन्य मानवीय सेवामा रेडक्रसका स्वयंसेवक र सम्बन्धित संयन्त्र परिचालन गरिनेछ। तत्कालीन राहतपछि प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणका लागि समेत आवश्यक समन्वय र सहयोग गरिने उनले बताए ।

शव व्यवस्थापनमा पनि सहयोग

भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने क्रम बढेसँगै शव व्यवस्थापनमा चाप परेको अवस्थालाई समेत कास्की रेडक्रसले प्राथमिकतामा राखेको छ।

बैठकले अस्पतालमा ल्याइएका शवको व्यवस्थापन, आफन्तसँग सम्पर्क तथा शव सम्बन्धित परिवारसम्म पुर्‍याउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। यसका लागि आवश्यकताअनुसार निःशुल्क एम्बुलेन्स तथा शववाहन सेवामा समन्वय गर्ने र रेडक्रसका स्वयंसेवक परिचालन गर्ने जनाइएको छ।

अस्पतालमा हेल्थ डेस्क र मनोसामाजिक सेवा

बाढीका कारण घाइते, प्रभावित तथा आफन्त गुमाएका परिवारलाई आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन अस्पताल परिसरमा हेल्थ डेस्क सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी जानकारी, एम्बुलेन्स तथा शववाहन सेवा, सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ।

स्वयंसेवक परिचालन गरिने

कास्की रेडक्रसअन्तर्गतका उपशाखा, जुनियर रेडक्रस सर्कल तथा युवा रेडक्रसका स्वयंसेवकलाई आवश्यकता र परिस्थितिअनुसार विपद् प्रतिकार्यमा परिचालन गर्ने निर्णय भएको छ।

स्वयंसेवकलाई राहत सामग्री संकलन तथा वितरण, स्वास्थ्य तथा सरसफाइ, रक्तदान तथा रक्तसंकलन, खोज तथा उद्धार, विपद् जोखिम न्यूनीकरण र पुनर्स्थापनालगायतका कार्यमा परिचालन गरिनेछ।

विपद्को समयमा राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावितसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत व्यवस्थापनमा जोड दिने निर्णय पनि बैठकले गरेको छ।

सरकार र सरोकारवालासँग सहकार्य

रेडक्रसले विपद्को व्यापकतालाई ध्यानमा राख्दै नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी एकीकृत मानवीय प्रतिकार्य सञ्चालन गर्ने जनाएको छ।

बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै बेपत्ता नागरिकको प्रभावकारी खोजी गरी तत्काल उद्धार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0