पोखरा । शान्ति निकेतन स्कुल, पर्स्याङ, पोखरा–५ ले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ।
सामाजिक उत्तरदायित्व तथा विपद्का समयमा समुदायलाई सहयोग गर्ने प्रतिबद्धताअनुसार विद्यालयले उक्त रकम सहयोग गरेको हो। विद्यालयका प्रधानाध्यापक डा. महेश्वर पराजुलीले देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए ।
उनले विपद्का समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि शैक्षिक संस्था, विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सामूहिक प्रयास महत्वपूर्ण हुने उल्लेख गरे।
विद्यालयले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ। साथै, शान्ति निकेतन स्कुलले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा योगदान गर्दै आवश्यकताअनुसार समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।















