पोखरा । कास्की जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो ।
भद्रकाली माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा कास्कीका पाँचवटै स्थानीय तहका ३५ विद्यालयबाट जुनियर युवा रेडक्रसमा आबद्ध ३५ जना विद्यार्थी सहभागी भएका थिए।
‘जलवायु परिवर्तन, जैविक विविधता र विपद् न्यूनीकरणमा जुनियर युवा रेडक्रसको भूमिका’ विषयमा आयोजित प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक लेखन क्षमता विकास गर्नुका साथै मानवीय सेवा, स्वयंसेवी भावना, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष किरण बरालले जुनियर युवा रेडक्रस अभियानले विद्यार्थीमा सकारात्मक चिन्तन, अनुशासन, नेतृत्व क्षमता र स्वयंसेवी भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । विपद्का समयमा समुदायस्तरमा प्रभावकारी प्रतिकार्य तथा व्यवस्थापनका लागि युवाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवं जुनियर युवा संयोजक डिल्लीराम बरालले प्रतियोगिताको उद्देश्य र निबन्ध लेखनका आवश्यक पक्षबारे विद्यार्थीलाई जानकारी गराए । उनले जलवायु परिवर्तन, जैविक विविधतामा परेको असर तथा विपद् न्यूनीकरणका क्षेत्रमा विद्यार्थी तथा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । यो कार्यक्रमले विद्यार्थीमा क्षमता अभिवृद्धि हुने उनको विश्वास छ ।
भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले जिल्लास्तरीय कार्यक्रम विद्यालयमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउँदै जुनियर युवा रेडक्रसले विद्यार्थीमा सेवा, सहयोग, अनुशासन र नेतृत्वको भावना विकास गर्न पुर्याएको योगदानको प्रशंसा गरे। यस्ता कार्यक्रमले विद्यार्थीमा लेखन कला सहित प्रतिभा उजागर गर्न सहजता प्रदान गर्ने उनको विश्वास थियो ।
नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयकी सचिव सपना लामिछानेले रेडक्रसका सात सिद्धान्तबारे जानकारी गराउँदै विद्यार्थी जीवनमै ती सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्। जिल्ला शाखा कास्कीकी सदस्य बबिता सुवेदीले पनि सहभागी विद्यार्थीलाई शुभकामना दिँदै मानवीय तथा सामाजिक सेवामा सक्रिय हुन आग्रह गरिन् ।

कार्यक्रमको अध्यक्षता नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयकी अध्यक्ष अमिका राईले गरेकी थिइन् । विद्यालयका शिक्षक नायक लक्ष्मीप्रसाद अर्यालले जुनियर युवा रेडक्रसका गतिविधि, विद्यार्थीको नेतृत्व विकास तथा मानवीय सेवामा युवाको सहभागिताबारे मन्तव्य राखे । कार्यक्रमको सञ्चालन सहशिक्षकनायक उमेश आचार्यले गरेका थिए ।
प्रतियोगितामा सहभागी विद्यार्थीले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, वातावरणीय चुनौती, विपद् न्यूनीकरण तथा मानवीय सेवामा जुनियर युवा रेडक्रसको भूमिकालगायतका विषयमा आफ्ना विचार निबन्ध मार्फत प्रस्तुत गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने भएको छ। पुरस्कार तथा प्रमाणपत्र नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा भदौ १९ गते वितरण गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले विद्यार्थीमा लेखन प्रतिभाको विकाससँगै मानवीय सेवा, वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जैविक विविधता संरक्षण र विपद् प्रतिकार्यमा युवा सहभागिताको महत्वबारे सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ।
















