पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ र आइएनएफ नेपाल हरियो खर्क अस्पतालबीच वडावासीलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउनेलगायतका विषयमा सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर वानिया र हरियो खर्क अस्पतालका निर्देशक डा. अरुणकुमार बुढाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै पोखरा–१५ का वडावासीले हरियो खर्क अस्पतालबाट सेवा लिँदा विशेष छुट प्राप्त गर्ने भएका छन् । बिरामीको पारिवारिक अवस्था र आर्थिक स्थितिलाई समेत ध्यानमा राखी अस्पतालले उपचारमा आवश्यक सहयोग गर्ने जनाएको छ । अस्पतालबाट सहुलियत लिन वडाले वडावासीलाई परिचय कार्डसमेत उपलब्ध गराउनेछ । उक्त कार्डका आधारमा टिकट काउन्टरबाटै सहुलियत प्राप्त हुने व्यवस्था मिलाइनेछ । सम्झौताअन्तर्गत अस्पतालको सहकार्यमा स्वास्थ्य सचेतना, सहयोग तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तार, सामुदायिक स्वास्थ्य प्रवर्द्धन र रेफरल प्रणालीलाई थप प्रभावकारी बनाउने योजना रहेको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विकाससँगै नागरिकका आधारभूत आवश्यकतासमेत बढ्दै गएको र स्वास्थ्य त्यसको प्रमुख आधार भएको बताइन् । स्वस्थ नागरिकले मात्रै समृद्ध समाज र देश निर्माणमा योगदान दिन सक्ने उल्लेख गर्दै उनले महानगरपालिका समृद्ध पोखरा निर्माणको अभियानमा अघि बढिरहेको बताइन् ।

वडाध्यक्ष तोरणबहादुर वानियाले हरियो खर्क अस्पतालबाट सेवा लिन चाहने वडा नं। १५ का सबै नागरिकलाई कार्ड उपलब्ध गराइने बताए । कार्डका कारण अस्पतालको टिकट काउन्टरबाटै सहुलियत प्राप्त हुने उनको भनाइ छ । अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध हुँदै आएको उल्लेख गर्दै उनले बिरामीको आवश्यकता र पारिवारिक अवस्थाका आधारमा उपचारमा थप सहयोग गर्ने अस्पतालको प्रतिबद्धताले कार्यक्रमलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

हरियो खर्क अस्पतालका निर्देशक डा. अरुणकुमार बुढाले अस्पतालमा २४ घण्टा विशेषज्ञ सेवा उपलब्ध रहेको जानकारी दिए । क्रिटिकल केयरलगायतका विभिन्न स्वास्थ्य सेवा विस्तार गरिएको उल्लेख गर्दै उनले वडावासीलाई त्यसको लाभ लिन आग्रह गरे । अस्पतालमा बिरामीले सिधै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ईएनटी सेवा अधिकृत एकदेव देवकोटाले गरेका थिए । सामुदायिक स्वास्थ्य तथा प्रवर्द्धन, स्वास्थ्य सेवामा पहुँच विस्तार, स्वास्थ्य सचेतना अभिवृद्धि तथा रेफरल प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार छुट सुविधा उपलब्ध गराइए पनि अस्पतालको ओपीडी शुल्क ४ सय रुपैयाँ कायम रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0