पोखरा । गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टरहरूले सेवा–सुविधा, कार्यस्थल सुरक्षा तथा शैक्षिक सुरक्षालगायतका माग राख्दै गर्दै आएको आन्दोलन सहमतिपछि स्थगित भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको उपस्थितिमा गण्डकी मेडिकल कलेज प्रशासन, इन्टर्न डाक्टर र जिल्ला प्रशासन कार्यालयबीच तीनपक्षीय वार्ता भएको थियो। वार्तामा इन्टर्न डाक्टरहरूले उठाएका मागहरू कलेज प्रशासनले सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रशिक्षार्थी डाक्टरहरूले पाउने सेवा–सुविधाका विषयमा भएको आन्दोलन सहमतिमा टुंगिएको जानकारी दिए। उनका अनुसार आइतबारदेखि नै इन्टर्न डाक्टरहरूको आन्दोलन समाप्त भएको छ।
इन्टर्न डाक्टर प्रविन ओझाका अनुसार वार्तामा यसअघि पाउँदै आएको मासिक रु. १२ हजार ५ सय निर्वाह भत्ता निरन्तर उपलब्ध गराउने सहमति भएको छ। अन्य मागका विषयमा भने कलेज प्रशासनसँग छलफल गरी क्रमशः समस्या समाधान गर्ने सहमति भएको उनले बताए।
इन्टर्न डाक्टरहरूले यसअघि मासिक रु. १२ हजार ५ सय भत्ता सुनिश्चित गर्नुपर्ने, भविष्यमा आठौँ तहका मेडिकल अधिकृतको तलबको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने रोडम्याप बनाउनुपर्ने, नाइट ड्युटीपछि आरामको व्यवस्था गर्नुपर्ने, समान तथा व्यवस्थित ड्युटी रोस्टर लागू गर्नुपर्ने र साप्ताहिक कार्यसमयलाई व्यवस्थित गर्नुपर्ने माग अघि सारेका थिए।
त्यस्तै, इन्टर्न डाक्टरलाई सामूहिक कारबाही वा अनावश्यक एक्सटेन्सन नदिनुपर्ने, लाइसेन्स परीक्षामा सहभागी हुने शैक्षिक वातावरण सुनिश्चित गर्नुपर्ने, व्यक्तिगत तथा प्रशासनिक काममा नखटाउनुपर्ने, कार्यस्थलमा हुने दुर्व्यवहार तथा उत्पीडनबाट सुरक्षा प्रदान गर्नुपर्ने र इन्टर्न कार्यस्थल सुरक्षा समिति गठन गर्नुपर्ने माग पनि उनीहरूले राखेका थिए।
इन्टर्न डाक्टरहरूले पोस्टिङ समाप्त भएपछि सम्बन्धित विभागको शिक्षण–सिकाइ र कार्य वातावरणबारे गोप्य फिडब्याक दिने व्यवस्था, नाइट ड्युटीका लागि सुविधासम्पन्न ड्युटी रुम तथा अस्पतालका सेवा–सुविधामा सहुलियतलगायतका विषय पनि मागपत्रमा समेटेका थिए।
गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल रविन्द्र श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकमा विद्यार्थीका मागबारे छलफल भई सहमति भएको बताए। उनले वार्ताबाट विद्यार्थी र कलेज प्रशासनबीचको दूरी कम भएको उल्लेख गर्दै जायज मागहरू सम्बोधन गर्न कलेज प्रशासन सकारात्मक रहेको बताए।
तीनपक्षीय वार्ताबाट सहमति जुटेपछि केही समयदेखि जारी इन्टर्न डाक्टरहरूको आन्दोलन अन्त्य भएको छ। सहमतिअनुसार अब कलेज प्रशासनले इन्टर्न डाक्टरका बाँकी मागहरू सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाउनेछ।















