पोखरा । एउटा कागजको सेतो पाना, हातमा रङ र कुची अनि मनमा आफूले देखेको समाजको चित्र । बालबालिकाका लागि चित्रकला केवल रङ भर्ने र चित्र बनाउने माध्यम मात्र होइन, आफूले बुझेको संसारलाई व्यक्त गर्ने एउटा बलियो भाषा पनि हो। यही भाषामार्फत कास्कीका विद्यार्थीले विपद्, सुरक्षित समुदाय, प्रकृति संरक्षण र डिजिटल युगमा नागरिकको जिम्मेवारीबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, जुनियर युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल रत्नज्योति माध्यमिक विद्यालय, पोखरा–८, रत्नचोकको व्यवस्थापनमा सम्पन्न जिल्ला स्तरीय चित्रकला प्रतियोगिताले विद्यार्थीको कलात्मक प्रतिभासँगै सामाजिक चेतना र मानवीय भावनालाई उजागर गरेको छ।
‘विपद् र सुरक्षित समुदायको निर्माण’, ‘प्राकृतिक सौन्दर्य’ तथा ‘डिजिटल युग र सचेत नागरिक’ विषयमा केन्द्रित प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयमा रहेका ५५ वटा जुनियर युवा रेडक्रस सर्कलको सहभागिता थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीका चित्रमा प्रकृतिप्रतिको प्रेमदेखि विपद्को जोखिम, वातावरण संरक्षण, प्रविधिको सदुपयोग र जिम्मेवार नागरिक बन्नुपर्ने सन्देशसम्म देखिन्थ्यो। उनीहरूले कुची र रङमार्फत आफूले बुझेको समाज र आफूले चाहेको सुरक्षित भविष्यलाई कागजमा उतारे।
बालबालिकाले बनाएको चित्रलाई हेर्दा उनीहरूको कल्पनाशक्ति मात्र होइन, समाजप्रतिको बुझाइसमेत देखिन्छ। भूकम्प, बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट बच्न अपनाउनुपर्ने सावधानीदेखि हरियाली वातावरण, प्राकृतिक सम्पदाको संरक्षण र प्रविधिको जिम्मेवार प्रयोगसम्मका विषय विद्यार्थीका चित्रमा अभिव्यक्त भएका थिए।
‘विपद् र सुरक्षित समुदायको निर्माण’ विषयले विद्यार्थीलाई आफू बस्ने समुदायलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सोच्न प्रेरित गरेको थियो। त्यस्तै ‘प्राकृतिक सौन्दर्य’ विषयले हिमाल, पहाड, वनजंगल, नदी तथा नेपालको प्राकृतिक सम्पदाप्रतिको उनीहरूको आकर्षण र संरक्षणको चाहना चित्रमार्फत देखायो।

‘डिजिटल युग र सचेत नागरिक’ विषयले भने विद्यार्थीको वर्तमान पुस्ता प्रविधिसँग कसरी जोडिएको छ भन्ने झल्काएको थियो। डिजिटल प्रविधिको सही प्रयोग, सामाजिक सञ्जालमा सचेतना, साइबर सुरक्षा र प्रविधिको सदुपयोगजस्ता विषयलाई उनीहरूले आफ्नो सिर्जनामा समेटेका थिए।
यसरी हेर्दा प्रतियोगिता केवल उत्कृष्ट चित्र छनोट गर्ने कार्यक्रममा सीमित रहेन। यसले विद्यार्थीलाई समसामयिक विषयमा सोच्ने, आफ्नो धारणा बनाउने र त्यसलाई सिर्जनात्मक रूपमा व्यक्त गर्ने अवसरसमेत दिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले चित्रकला बालबालिकाको सिर्जनात्मक क्षमता, कल्पनाशक्ति र अभिव्यक्ति विकास गर्ने प्रभावकारी माध्यम भएको बताए।
उनले रेडक्रसको मानवीय भावना, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा सुरक्षित समुदाय निर्माणजस्ता विषयलाई कलामार्फत विद्यार्थीसमक्ष पुर्याउनु महत्वपूर्ण रहेको उल्लेख गरे।
उनका अनुसार विद्यालय तहमा हुने यस्ता गतिविधिले विद्यार्थीको पाठ्यपुस्तकीय ज्ञानलाई व्यवहारिक र सामाजिक चेतनासँग जोड्ने काम गर्छ। विद्यार्थीले आफूले पढेको वा सुनेको विषयलाई चित्रमार्फत प्रस्तुत गर्दा त्यस विषयप्रतिको बुझाइ अझ गहिरो बन्ने उनको भनाइ थियो।

कार्यक्रमकी विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले विद्यार्थीमा सानै उमेरदेखि सेवा, सहयोग, मानवता र स्वयंसेवी भावनाको विकास गराउन यस्ता सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उनले जुनियर युवा रेडक्रसका गतिविधिलाई प्रतियोगितामा मात्र सीमित नराखी विपद् व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्दै लैजानुपर्नेमा जोड दिइन्।
रेडक्रसको मूल भावना नै मानव सेवासँग जोडिएको उल्लेख गर्दै उनले विद्यार्थी उमेरदेखि नै सहयोग र सेवाको संस्कार विकास गर्न सके भविष्यमा समाजका लागि जिम्मेवार स्वयंसेवक तयार गर्न सकिने बताइन्।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री एवं जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले प्रतियोगिताको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै चित्रकलाले विद्यार्थीमा रहेको सिर्जनशीलता, मौलिकता, सामाजिक सेवाको भावना तथा मानवताको चेतना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनका अनुसार विपद्को जोखिम न्यूनीकरण, सुरक्षित समुदाय निर्माण, प्राकृतिक सौन्दर्यको संरक्षण तथा डिजिटल युगमा सचेत नागरिक निर्माणका विषयलाई चित्रमार्फत अभिव्यक्त गराउँदा विद्यार्थीमा जिम्मेवार नागरिक तथा भविष्यका स्वयंसेवक बन्ने आधार तयार हुन्छ।
बरालले यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै समाज र समुदायप्रति उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
उनको भनाइमा चित्रकला प्रतियोगिताको वास्तविक उपलब्धि पुरस्कार प्राप्त गर्ने विद्यार्थीको संख्यामा मात्र मापन हुँदैन। प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थीले एउटा विषयमा सोच्ने, त्यसलाई आफ्नो दृष्टिकोणबाट बुझ्ने र सिर्जनात्मक माध्यमबाट अभिव्यक्त गर्ने अवसर पाउनु नै महत्वपूर्ण उपलब्धि हो।

प्रतियोगिताका उत्कृष्ट चित्र छनोट गर्न तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो। निर्णायक संयोजकका रूपमा राइट फर चिल्ड्रेनका आर्ट प्रोजेक्ट कोअर्डिनेटर रमित नेपाली, कलाकार तथा स्टार आर्टसका प्रोपाइटर विवेक थापा र आयोजकका तर्फबाट जुनियर युवा समितिका संयोजक डिल्लीराम बराल रहेका थिए।
निर्णायकहरूले चित्रको विषयवस्तुको सान्दर्भिकता, सिर्जनशीलता, मौलिकता, कलात्मक प्रस्तुति तथा सामाजिक सन्देशलाई आधार बनाएर उत्कृष्ट चित्र छनोट गरेका थिए।
प्रतियोगितामा सिर्जना सेकेन्डरी स्कुलका छात्र कृष बानिया प्रथम भएका छन्। मदरल्याण्ड माध्यमिक विद्यालयकी छात्रा एन्जेल नेपाली द्वितीय र कास्की मोडर्नाइज माध्यमिक विद्यालयकी छात्रा युना आले तृतीय भएका छन्। त्यसैगरी कालिका माध्यमिक विद्यालय, रामबजारकी छात्रा संगिता नेपाली र बाल मन्दिर माध्यमिक विद्यालय, नदिपुरकी छात्रा आस्था गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन्।
कार्यक्रममा रत्नज्योति माध्यमिक विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा जुनियर रेडक्रसका सात सिद्धान्त वाचन गरिएको थियो। कार्यक्रमको अध्यक्षता जुनियर रेडक्रस सर्कल रत्नज्योति माध्यमिक विद्यालयका अध्यक्ष संस्कार भुषालले गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक नायक सुमिता पौडेलले गरेकी थिइन्।
कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, रेडक्रस कास्कीका जिल्ला सदस्य खगेन्द्रराज पराजुली, सदस्य सूर्यप्रसाद तिमिल्सिना पालुबा, बबिता सुवेदी, जुनियर युवा समितिका सदस्य शर्मिला बराल सापकोटा तथा सदस्य कीर्तिराज ढकाल एवं कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालालगायतको उपस्थिति थियो।
















