पोखरा । पोखरा महानगरपालिका–१५ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं. १५ को कार्यालयको आयोजना तथा बालहितकारी परियोजना नेपाल, पोखराको समन्वयमा आइतबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वडा नं. १५ का बालबालिकाको क्षेत्र हेर्ने वडा सदस्य बलराम पौडेलले बालबालिकामा नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा बालमैत्री स्थानीय शासनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले बालमैत्री समाज निर्माणका लागि बालबालिकाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वडाले बालबालिकाको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
पोखरा महानगरपालिकाको लेखा समिति सदस्यसमेत रहेका पौडेलले बालमैत्री स्थानीय शासनलाई व्यवहारमा कार्यान्वयन गर्न समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा सदस्य मन्दिरा परियारले चालु आर्थिक वर्षको अन्तिम कार्यक्रमका रूपमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया आयोजना गरिएको बताइन्। यस्ता कार्यक्रमले सहभागीहरूको ज्ञान, सीप र चेतनाको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले बालबालिकाको समग्र विकासका लागि वडा कार्यालय निरन्तर सक्रिय रहेको बताइन्।
उनले वडाले खेलकुद, शैक्षिक, सिर्जनात्मक तथा बालमैत्री गतिविधिमार्फत बालबालिकाको प्रतिभा विकासमा निरन्तर काम गरिरहेको उल्लेख गरिन्। बालबालिकाको हितका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरणमा वडा कार्यालय तथा जनप्रतिनिधिहरू सधैं प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो।
कार्यक्रममा बालहितकारी परियोजना नेपाल, पोखराका संयोजक केशव प्रसाद पौडेलले सहजीकरण गरेका थिए। उनले बालमैत्री स्थानीय शासनको अवधारणा, यसको आवश्यकता, स्थानीय तहको भूमिका, बाल अधिकार संरक्षण, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणका विषयमा विस्तृत प्रस्तुति दिएका थिए। उनले बालमैत्री स्थानीय शासन प्रभावकारी बनाउन स्थानीय सरकारसँगै विद्यालय, समुदाय, अभिभावक तथा स्वयं बालबालिकाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा वडा सदस्य सेतीमाया गुरुङ, आशिष भण्डारी, वडा सचिव मोतिराज पोखरेल, सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइराला, शहरी स्वास्थ्य केन्द्र पोखरा–१५ की प्रमुख सम्झना थापा, नवजनशक्ति टोल विकास संस्थाका अध्यक्ष भाष्कर पाण्डेलगायतले सहभागिता जनाएका थिए। साथै वडामा क्रियाशील बाल क्लब, बाल सञ्जाल, बालगृह, विद्यालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा बालहितकारी परियोजना नेपालद्वारा तयार गरिएको वडा नं. १५ का बालबालिकाको प्रोफाइल वडा कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। उक्त प्रोफाइलले वडाभित्र रहेका बालबालिकाको अवस्था, आवश्यकता तथा योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, शैक्षिक संस्था, समुदाय र सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
















