पोखरा । गण्डकी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ पोखरामा सुरु भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा भएको दुईदिने सम्मेलनमा प्रदेशका ११ जिल्लाबाट ५० भन्दा बढी युवाको सहभागिता रहेको छ । सम्मेलनले युवा नेतृत्व, नीति निर्माणमा सहभागिता र समसामयिक चुनौतीबारे छलफल गर्ने लक्ष्य राखेको आयोजकले जनाएका छन् ।

शनिबार सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले युवाले परिवर्तनको खोजी मात्र नभई त्यसको नेतृत्व गर्नुपर्ने बताइन् । मन्त्री गुरुङले युवा उमेरले मात्र नभई विचारले परिभाषित हुने बताइन् । उनले केन्द्रीय युवा सम्मेलनसमेत पोखरामै आयोजना गर्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीले देशको भविष्य युवाको काँधमा रहेको उल्लेख गर्दै युवाहरूलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

युवा अभियानकी उपाध्यक्ष स्वस्तिका सुवेदी ले नेपालमा डिजिटल पहुँच विस्तार, शिक्षा र नागरिक चेतनाको विकासले युवालाई सार्वजनिक बहस, नीति निर्माण र विकास प्रक्रियामा सहभागी हुने अवसर दिएको बताइन् । तर विभिन्न संरचनागत तथा व्यवहारिक चुनौतीका कारण युवाले पर्याप्त अवसर प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

सम्मेलनमा गैसस महासंघ नेपालका निवर्तमान अध्यक्ष राम प्रसाद सुवेदी, उपाध्यक्ष नानीमाया थापा, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौला, राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत डा राजन पौडेल तथा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले युवाको भूमिका, अवसर र चुनौतीबारे धारणा राखेका थिए ।

आइतबारसम्म सञ्चालन हुने सम्मेलनबाट युवाका आवाजलाई स्थानीयदेखि राष्ट्रिय तहसम्म पुर्‍याउने तथा आगामी दिनमा केन्द्रीय युवा सम्मेलन आयोजना गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार यसअघि देशका अन्य प्रदेशमा यस्ता सम्मेलन सम्पन्न भइसकेका छन् । अब केही समयपछि केन्द्रीय युवा सम्मेलन आयोजना गर्ने तयारी गरिएको बताइएको छ । कार्यक्रम सञ्चालन युवा अभियान गण्डकी प्रदेशका संयोजक आदित्य रसाइलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0