पोखरा । पोखरा लेडी जेसीजले ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ।  युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित सक्रिय लेडी जेसीजले ‘सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल मन्त्रका साथ कार्यक्रम गर्न लागेको हो । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सप्ताह कार्यक्रम वैशाख २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको तयारी तीव्र पारिएको छ ।

जस अनुसार पहिलो दिन वैशाख २५ गते शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका वडा नं. ३ मा रहेको कन्या क्याम्पसको सभाहलमा उद्‌घाटन समारोहसँगै साइबर अपराध तथा बैङ्किङ साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिनेछ। छात्रा लक्षित उक्त कार्यक्रमको संयोजन सन्तोषी अर्यालले गर्नेछिन्।

दोस्रो दिन वैशाख २६ गते शनिबार बिहान ८ बजे मादी गाउँपालिका वडा नं. ६ स्थित श्री महारुद्र माध्यमिक विद्यालयमा ग्रामीण बासिन्दालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। कार्यक्रमको संयोजन डा. नमिता अधिकारीले गर्नेछिन्। तेस्रो दिन वैशाख २७ गते आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. २० मा सङ्घसंस्थाका पदाधिकारी लक्षित माइन्यूट लेखन तथा वित्तीय साक्षरता तालिम सञ्चालन गरिनेछ। उक्त तालिमको संयोजन अन्जना सुवेदीले गर्ने बताइएको छ ।

चौथो दिन वैशाख २८ गते सोमबार बिहान ११ बजे वडा नं. १९ मा कृषक लक्षित कृषि स्वास्थ्य सचेतना तालिम तथा मल वितरण कार्यक्रम आयोजना गरिनेछ, जसको संयोजन सरिता भुजेलले गर्नेछिन्। पाँचौ दिन वैशाख २९ गते मङ्गलबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. ३० मा सङ्घसंस्थाका कोषाध्यक्ष तथा सचिव लक्षित विद्यालय पोशाक वितरण कार्यक्रम सञ्चालन गरिनेछ। सोही दिन दिउँसो १ बजे आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै लेखा व्यवस्थापन तथा उद्‍घोषण तालिम पनि आयोजना गरिनेछ। यी कार्यक्रमहरूको संयोजन शारदा लामिछाने र दुर्गा तिलिजाले गर्नेछन्।

छैटौँ दिन वैशाख ३० गते बुधबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. २५ मा जनसमुदाय लक्षित प्रजनन स्वास्थ्य तथा बाँझोपन सम्बन्धी सचेतना तथा निःशुल्क शिविर सञ्चालन गरिनेछ। कार्यक्रमको संयोजन एलिसा भुजेलले गर्नेछिन्। सप्ताह कार्यक्रमको समापन वैशाख ३१ गते बिहीबार दिउँसो ४ बजे सरोकारवालाको सहभागितामा गरिनेछ। समापन कार्यक्रमको संयोजन सुभद्रा बरालले गर्नेछिन्। कार्यक्रमहरू विद्यार्थी, ग्रामीण बासिन्दा, कृषक, सङ्घसंस्थाका पदाधिकारी, कोषाध्यक्ष तथा सचिव, आर्थिक रूपमा कमजोर विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ।

मूल संयोजक विनिता केसीले सप्ताह अन्तर्गतका कार्यक्रमहरूले सीप विकास, स्वास्थ्य सचेतना, वित्तीय ज्ञान विस्तार तथा सामुदायिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। अध्यक्ष सुनिता गौतम भण्डारीले कार्यक्रम सफल बनाउन सरोकारवाला निकाय तथा सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिन्।

पत्रकार सम्मेलनमा  उपाध्यक्ष सामाजिक डा.नमिता अधिकारी, कोषाध्यक्ष रेजिना कट्वाल क्षेत्री,महासचिव सिर्जना आले “ईसा” लगायतले बोलेका थिए ।

आज भन्दा ३७ वर्ष अगाडि सन् १९८९ मा स्थापना भएको पोखरा लेडी जेसीज १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय महिलाहरूको संस्था हो। संस्थाले विधिको शासन र विश्व बन्धुत्वको भावना आत्मसात् गर्दै सदस्यहरूको व्यक्तित्व तथा नेतृत्व विकासका साथै समुदायमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको छ। यस वर्ष पनि सामुदायिक विकासलाई केन्द्रमा राखी विविध कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ। सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न झण्डै ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0