पोखरा । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेश) र गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालबीच पर्यटन विकासका विविध विषयमा केन्द्रित रहेर छलफल भएको छ।
भेटवार्ताका क्रममा मन्त्री रिमालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा ‘पर्यटनको राजधानी’का रूपमा चिनिएको गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरिन्। उनले पोखरा विमानस्थलबाट नियमित अन्तरप्रदेशीय उडान सञ्चालन गर्न सके गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुने धारणा राखिन्
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्लीसहित विभिन्न सहर तथा बङ्गलादेशको ढाकासम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन सङ्घीय मन्त्री पौडेललाई अनुरोध गरिन्
मन्त्री रिमालले मुस्ताङको लोमान्थाङ, गोरखाको मनकामना मन्दिर, ऐतिहासिक गोरखा दरबार तथा बाग्लुङको ढोरपाटन क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्न पनि आग्रह गरिन्।
यसैगरी ‘एक जिल्ला, एक हवाई मैदान’ अवधारणाअन्तर्गत लामो समयदेखि अलपत्र रहेको लमजुङ जिल्लाको शीतलेस्वाँरा हवाई मैदान निर्माण कार्यलाई प्राथमिकतामा राख्न जोड दिइन्। अन्नपूर्ण र मनास्लु हिमशृङखलाको हवाई दृश्यावलोकनका लागि उक्त विमानस्थल अत्यावश्यक रहेको मन्त्री रिमालको भनाइ थियो।
त्यस्तै, गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्गमा आवश्यक पूर्वाधार विकास गर्न पनि सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको छ। साथै, बौद्ध हिमाल–हिमालचुली ‘ग्रेट लेक सर्किट’ पदमार्गलाई आगामी वर्षको नीति कार्यक्रममा समावेश गर्न मन्त्री रिमालले माग गरेकी छन्।
भेटवार्तामा दुवै मन्त्रीबीच पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारका विषयमा सकारात्मक छलफल भएको मन्त्री रिमालको सचिवालयले जानकारी दिएको छ।
















