पोखरा । कास्कीका सरकारी कार्यालयहरूबाट आर्थिक वर्ष २०८० /८१ मा सम्पादन भएका कामहरूको  दुई दिने वार्षिक समीक्षा कार्यक्रम मङ्गलबारबाट सुरु भएको छ। जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भीम बहादुर कार्कीले सेवा प्रवाह सहित विकासका योजना थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिनुपर्ने बताए । प्रभावकारी कार्यान्वयनमा विद्यमान कानुनी अप्ठ्यारा निराकरण गर्न सबैको पहल आवश्यक भएको भन्दै कार्कीले  उत्कृष्ट प्रयासमा केन्द्रित हुन सुझाए। सरकारका तहबीच प्रभावकारी  सहकार्य र समन्वयमा जिल्ला समन्वय समितिले कास्कीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्कीले आवश्यक थप ऎन कानुन निर्माणका लागि प्रदेश सभाबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

प्रदेश सभा सदस्य  गणेशमान गुरुङले आम जनताको आवश्यकतालाई ध्यान दिदैँ सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बिनियोजित बजेटमा  पुँजीगत तथा वित्तिय खर्च विवरण  न्यून हुनु गम्भीर समस्या भएको भन्दै त्यसतर्फ  विकासका नीति तथा योजना केन्द्रीकृत गर्न जोड दिइन्  । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले  कास्कीका हरेक कार्यालयहरू उत्कृष्ट हुनु पर्ने भन्दै चालू आर्थिक वर्षका योजना नीति कार्यक्रम प्रभावकारी रूपले कार्यान्वयन गर्न आग्रह गरे ।

 समीक्षामा पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङ, रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, अन्नपूर्ण गाउँ पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, रूपाका उपाध्यक्ष लालसुब्बा गुरुङ, मादीका उपाध्यक्ष कल्पना गुरुङ, माछापुच्छ्रेका उपाध्यक्ष सिता अधिकारी सहितले कास्कीका कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रवाहको सम्बन्धमा धारणा राखेका थिए ।

 मङ्गलबार शिक्षा तथा समन्वय इकाई, कृषि ज्ञान केन्द्र, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्की, घरेलु तथा पर्यटन कार्यालय ,डिभिजन बन कार्यालय, स्वास्थ्य कार्यालय, वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी, डिभिजन बन कार्यालय, कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे, रूपा मादी गाउँपालिका सहित पोखरा महानगरपालिकाले आफ्नो कार्यालयको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए।  समीक्षामा कार्यालयहरूले वार्षिक स्वीकृत बजेट कार्यक्रम, वार्षिक लक्ष्य अनुसार भौतिक र वित्तिय प्रगति, कार्यान्वयनका उपलब्धि, समस्या र चुनौती सहित कामको नतिजामा सुधार सम्बन्धमा छलफल गरिएको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए । समीक्षा कार्यक्रम बुधबार समेत हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0