पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न ३५ औं महाधिवेशनका लागि उम्मेदवारहरू आफ्नो प्रचार अभियानमा व्यस्त भएका छन । निर्वाचनमा २०५५ सालदेखि सङ्घमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न हुँदै विभिन्न पदहरूमा रहेर काम गरिसकेका हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अध्यक्षका प्रत्यासी रहेका छन् ।
अघिल्लो पटक हालका अध्यक्ष पवन प्रजापतिसँग पराजित भएका अर्जुन पोखरेल टिमसहित चुनावी मैदानमा उत्रिएका छन् भने केही पदमा निर्विरोध भई सकेका छन् । तर आधिकारिक घोषणा भने गरिएको छैन । उम्मेदवारहरू प्रचारमा गइरहँदा यहाँ हुने विभिन्न कार्यक्रममा सरिक भएर प्रचारको मेलो सार्ने गरेका छन् ।
आफूलाई पदीय क्रमानुसार र स्वभावतः प्राकृतिक न्यायको सिद्धान्त अनुसार वरिष्ठ उपाध्यक्षपछि पुग्ने ठाउँ अध्यक्षको पद नै भएको बताउने गोकर्ण कार्की डेङ्गुको उपचारसँगै सामाजिक सञ्जाल, फोन र सकेका कार्यक्रममा सरिक भएर मत मागिरहेका छन् । विगतका निर्वाचनमा आकर्षक मत पाएर जित हासिल गरेको कार्की यसपटक अध्यक्षका लागि व्यवसायीबाट सोही माया पाउनेमा ढुक्क छन् ।
मङ्गलबार नेपाल हवाई खेलकुद संस्थाको १२ औं साधारण सभा तथा १० औं अधिवेशनमा पुगेर पोखराका पर्यटन व्यवसायीसँग प्रतिकुल स्वास्थ्य हुँदाहुँदै र उपचारकै क्रममा रहेको जनाउँदै व्यवसायीसँग भेटघाट र सहयोगको अपेक्षा व्यक्त गरे ।
आफ्ना मुद्दाहरूमा कृषि, उत्पादनका क्षेत्रहरूको पहिचान र उत्पादन तथा उत्पादित वस्तुहरूको ब्रान्डिङ र बजारिकरण विशेष चासो जाहेर गरेका कार्कीले आर्थिक चुनौतीको पीडामा रहेका व्यवसायीसँग सँगै हिँडेर केही फरक काम गर्न चाहेको बताए ।
पोखराको लागि निजी क्षेत्र कहिल्यै पछि नपर्ने भन्दै तीनै तहका सरकारसँग र विशेष पर्यटकीय राजधानी पोखराको लागि स्थानीय सरकारसँग साझेदारी गरेर काम गर्न आतुर रहेको कार्कीले बताए । उनले भने – ‘केही काम त भएको छ । पोखरा महानगरपालिका व्यावसायिक प्रबर्द्धन केन्द्रसँग साझेदारीमा काम भएको छ ।’ अन्य धेरै विषयहरूसँग जोडिएर कार्य गर्न सकिने सम्भावना पनि देखेको कार्कीले सुनाए ।
‘प्राकृतिक रूपले, न्यायिक रूपले र स्वयंसिद्ध तथ्यले क्रमअनुसार मेरो पुग्ने ठाउँ अध्यक्षको पद नै भएकोले सहयोगको अपेक्षा गरेको छुँ’ कार्कीले भने ।