पोखरा । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ का अवसरमा नेपाल फोटो पत्रकार सङ्घ, कास्कीले जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो प्रदर्शन गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा सङ्घले आइतबार पोखरा–३ नदिपुरस्थित कोर्टयार्डको प्राङ्गणमा फोटोमा ‘६२, ७२ र ८२’ फोटो प्रदर्शनी गरेको हो । नेपालमा पछिल्लो ३ दशक यता हरेक १०/१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २०६२/०६३ को जनआन्दोलन, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटो राखिएको थियो । 

प्रदर्शनीको पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्‌घाटन गरेका थिए । कार्यक्रममा उनले तस्बिर हेर्ने मात्र नभएर अनुभव गर्ने खालको हुनुपर्ने बताए । ‘फोटो केवल फ्रेम वा क्यानभासमा सजाउने चिज मात्र नभएर यो एउटा कला पनि हो । फोटो पत्रकारको एक क्लिकले इतिहास पनि बताउँछ,’ उनले भने, ‘तस्बिरहरूले समाजलाई जानकारी मात्र हैन् । महसुस पनि गराउँछ । तस्बिर हेर्दै गर्दा सपना पनि बुनिन्छ ।’ फोटो पत्रकारहरूको सिर्जनात्मक काममा वडाको सधैँ साथ र सहयोग रहने उनले बताए । 

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अक्षर पढेर भन्दा पनि तस्बिर हेरेर धेरै विषय बुझ्न सकिने बताए । ‘फोटो पत्रकारहरूले जे देख्छ त्यही क्लिक गर्छ । कुनै बनावटी कुरा पनि हुदैंन्,’ उनले भने, ‘यस्तो खालको जनचेतनामूलक प्रदर्शनी अरु ठाउँमा पनि हुनुपर्छ ।’ फोटो पत्रकारको कार्यक्रममा सहकार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, कास्की अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष गङ्गाधर पराजुलीलगायतले समाचारलाई थप विश्वसनीय बनाउन फोटो महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारहरू मेहनती, सङ्घर्षशील र सिर्जनशील हुनुपर्ने बताएका थिए । 

फोटो पत्रकारिता दिवसका अवसरमा फोटो मार्फत जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनका बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कार्यक्रम संयोजक संस्थाकी सहसचिव दुर्गा रानामगरले जानकारी दिइन् । ‘हामी फोटो पत्रकारहरूका लागि वैशाख १३ अर्थात फोटो पत्रकारिता दिवस अति नै महत्वपूर्ण छ । हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएका छौं,’ उनले भनीन्, ‘यो वर्ष पनि दिवसलाई ऐतिहासिक बनाउनका लागि ‘फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गरेका हौँ ।’ 

वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । वीरगञ्जका एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले उक्त दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् । 

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फोटो प्रदर्शन गरिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरूले कैद गरेका १ सय वटा फोटो राखिएको थियो । प्रदर्शनीमार्फत नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिने प्रयास गरिएको उनले सुनाए । साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेज रुपमा लिएको छ ।  आगामी वर्ष पनि फोटो पत्रकारिता दिवस भव्य बनाउने क्रममा रचनात्मक कार्यक्रम गर्दै जाने अध्यक्ष गुरुङले सुनाए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0