पोखरा । २० औं लोकतन्त्र दिवसको अवसरमा पोखराको सहिदचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। जन आन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीको आयोजनामा शुक्रबार साँझ भएको कार्यक्रममा समितिमा आवद्ध सहित विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो।
समितिका अध्यक्ष शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गौतमले २० वर्षमा प्रवेश गरेको युवा लोकतन्त्र अब कसैसँग नझुक्ने बताए । देश निर्माणका लागि आवश्यक परे पुनः राजनीतिक आन्दोलन गर्न पनि तयार रहेको उनको धारणा थियो । देशलाई प्रयोगशाला बनाउन खोजिएको भन्दै यस्तो बेथिति कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै सरकारलाई खबरदारी समेत गरे ।
पूर्व अध्यक्ष ढाकाराम पौडेलले २००७ सालदेखि भएका विभिन्न आन्दोलनहरू जनताको अधिकार स्थापित गर्नकै लागि भएको उल्लेख गर्दै ती उपलब्धिहरूलाई जोगाउन सबैलाई आह्वान गरे । उपाध्यक्ष नारायण सुवेदीले लोकतन्त्रको मूल मर्म अनुसार राज्य सञ्चालन गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन सचिव विजया सुवेदीले गरेकी थिइन् ।
















