पोखरा । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ तनहुँले शुक्लागण्डकी नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । नगरपालिकाले निर्धारण गरेको कर घटाउनुपर्ने र विकास निर्माणका काम समयमै सम्पन्न गर्नुपर्ने लगायतका १० बुँदे माग राख्दै कांग्रेसले नगर प्रमुखको ध्यानाकर्षण गराएको हो ।
कांग्रेसका क्षेत्रीय सभापति चूडामणि खनाल र सचिव सन्तोष घिमिरेले सोमबार पत्र बुझाउँदै जनताका गुनासो र आवश्यकताका आधारमा विभिन्न माग अघि सारेका हुन् । नगरपालिकाले निर्धारण गरेको भारी भूमि करलाई घटाएर जनमुखी बनाउनुपर्ने माग पत्रमा उल्लेख छ । त्यस्तै सामुदायिक विद्यालयका शिक्षकले पाउनुपर्ने तलब मासिक रूपमा पाउने व्यवस्था गर्न कांग्रेसले माग गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षित यात्राका निम्ति जेब्रा क्रसिङसहित आकासे पुल निर्माण गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । क्रसर उद्योगलाई सरकारले तोकेको मापदण्ड अनुसार व्यवस्थापन गर्न र विकास निर्माणका योजना निर्धारित समयमै सम्पन्न गर्न पनि नगरपालिकालाई आग्रह गरिएको छ । असहाय तथा विपन्न विद्यार्थीका लागि निःशुल्क आवासीय विद्यालय स्थापना र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने माग पनि कांग्रेसले अघि सारेको छ ।
शुक्लागण्डकी ८ मा रहेको चिस्यान केन्द्र र वडा नम्बर ५ मा रहेको कृषि उपज संकलन केन्द्रलाई तत्काल सञ्चालनमा ल्याउन पत्रमा भनिएको छ । गर्मीयाम सुरु हुन लागेकाले बजार क्षेत्रको नाली सफा राख्न नगरपालिकाले विशेष पहल गर्नुपर्ने कांग्रेसले जनाएको छ । पत्रमा भनिएको छ, ‘नगर कार्यपालिकाले सर्वसम्मत निर्णय गरेर कार्य प्रारम्भ गरी सम्पन्न नभएका योजनालाई निर्धारित समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउँदछौँ ।’
जनताका अपेक्षासँग जोडिएका यी विषयलाई तत्काल सम्बोधन गर्न माग गर्दै कांग्रेसले यसका लागि आफ्नो साथ र सहयोग रहने समेत स्पष्ट पारेको छ । उपभोक्ता र टोल विकास संस्थालाई सहजीकरण हुने गरी आर्थिक ऐन र कार्यविधि कार्यान्वयन गर्नुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ । स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको परिप्रेक्ष्यमा जनताले घरदैलोमै सेवा पाउनुपर्ने कांग्रेसको ठहर छ ।
यस्ता छन् मागहरु:-
१) शुक्लागन्डकी नगरपालिकाले निर्धारण गरेको भारी भूमि करलाई घटाइ जनमुखी कर निर्धारण गर्नु पर्ने ।
२) सामुदायिक विद्यालयका शिक्षकहरूले पाउनु पर्ने तलब मासिक रूपमा पाउने व्यवस्था गर्ने ।
३) बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गरी सुरक्षित यात्राका निम्ति जेब्रा क्रसिङ सहित आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायमा विशेष पहल गर्ने ।
४) क्रसर उद्योगहरूलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसार व्यवस्थापन गर्ने ।
५) विकाश निर्माणको काममा विनियोजित बजेट निर्धारित समयमा सम्पन्न गर्न पर्ने ।
६) असहाय तथा विपन्न विद्यार्थीका लागि निःशुल्क आवासीय विद्यालय स्थापना गर्नुपर्ने ।
७) अपांग, असहाय तथा अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था ।
८) शुक्लागण्डकी ८ मा रहेको चिस्यान केन्द्र र शुक्लागण्डकी ५ मा रहेको कृषि उपज संकलन केन्द्रलाई सञ्चालनमा ल्याउने ।
९) गर्मी याम सुरु हुन लागेको हुँदा बजार क्षेत्रका नालीको फोहोर मैला र दुर्गन्धका कारण विभिन्न किसिमका रोगहरू लाग्न सक्ने हुँदा नगरपालिकाले नाला सफा राख्न विशष पहल गर्नु पर्ने ।
१०) नगर सभाबाट स्वीकत आर्थिक ऐन लगायतका ऐन, कार्यविधि कर्मचारी, जनप्रतिनिधिलाई सहजीकरणका लागि नभई उपभोक्ता, टोलविकास संस्था, र जनतामुखी बनाई कार्यान्वयनका लागि कार्य गर्नु पर्ने ।
















