पोखरा । यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ ।
प्रतियोगिता विशेषगरी डर्ट बाइक (अफ–रोड मोटरसाइकल) प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका सोमबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियनसिपका रेस डाइरेक्टर तथा एडभेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोलीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी सकिएको र प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै खेलाडीहरूका लागि ट्रयाक खुला गरिएको छ । अहिले उक्त ट्रयाकमा राइडरले दिनहु अभ्यास गरिरहेका आयोजकले जनाएको छ ।
मध्यपूर्व द्वन्द्वले गर्दा अन्य देशका खेलाडी आउन कठिनाइ र प्रतिकुल परिस्थितिका कारण अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागि सङ्ख्यामा भने कमी आएको स्वीकार्छन् स्थानीय आयोजक समेत रहेका नील गगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेल । प्रेस विज्ञप्ति वाचन गर्दै पौडेलले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको र यस प्रकारको खेलले नेपालमा एडभेन्चर स्पोर्टस्को विकास, खेलकुदको प्रवर्द्धन तथा स्पोर्टस् टुरिजमलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा च्याम्पियनसिपको ट्रफी समेत सार्वजनिक गरिएको छ । नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले ट्रफी सार्वजनिक गरे । प्रतियोगिता ४.८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने अनुमान गरिएको छ भने मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिङ्क रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।
विशेषगरी पोखरालाई एडभेन्चर स्पोर्टस् र खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।















