पोखरा । सूर्यतारा क्लब पोखराले ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । आगामी चैत्र २७ गतेदेखि चैत्र ३० गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने महोत्सवको तयारी सुरु भएको क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको छ । यो प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए ।
द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । टिम दर्ता चैत्र २५ गते भित्र गर्नुपर्नेछ । दर्ता शुल्क ७ हजार ५ सय लाग्नेछ ।
फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरिने आयोजकको भनाइ छ ।
‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्धेश्यका साथ २०७५ सालमा स्थापना भएकाे क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ ।
















