पोखरा । प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेलले उनले मतदाताको अभिमतलाई ध्यानमा राखेर काम गर्ने समेत बताएका छन् । विजयी घोषणा भएपश्चात प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छन् । सबैको योगदानलाई निरन्तर स्मरण गर्ने उनले उल्लेख गरेका छन्।
निर्वाचन मार्फत देशलाई निकास दिनुपर्ने अवस्थामा निर्वाचित हुन सफल भएकोले जेनजी आन्दोलनको म्यान्डेट अनुसार अबको ५ वर्ष काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पौडेल भारी मतअन्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतको फराकिलो अन्तरले पराजित गरे । पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दा आचार्य ७ हजार ४९३ मतमा सीमित भए ।तेस्रो स्थानमा रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोलाले ६ हजार ५०० मत पाए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका हेमजङ गुरुङले १ हजार ६४३, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत ल्याए ।
निर्वाचन अधिकृतको कार्यालय कास्की २ का अनुसार यस क्षेत्रमा कुल ५२ हजार ५१९ मत खसेको थियो । तीमध्ये १ हजार ८४४ मत बदर भएको छ । कास्की–२ लाई एमालेले आफ्नो सुरक्षित क्षेत्र मान्दै आएको थियो । यहाँ यसअघि एमाले नेता रवीन्द्र अधिकारीले तीनपटक र विद्या भट्टराईले दुईपटक जित हासिल गरेका थिए ।
पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका पौडेल रास्वपा सभापति रवि लामिछानेका निकट मानिन्छन् । सञ्चार क्षेत्रबाटै सुशासनको वकालत गरेका पौडेल निर्वाचित भएपछि सोही मुद्दालाई संस्थागत गर्ने मतदाताको अपेक्षा छ ।
















