पोखरा । नेपाली काँग्रेस कास्कीको आयोजनमा आज फाल्गुन १५ गते पोखराको अमरसिंहचौरमा हुने विशाल आमसभाको तयारी पूरा भएको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए । आमसभालाई नेपाली काँग्रेसका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गर्नेछन्।
‘बदल्यौ काग्रेस, बदल्छों देश’ भन्ने दृढ संकल्पका साथ आयोजना हुन लागेको आमसभा मार्फत बदलिएको काँग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए।
बदलिएको काँग्रेस भनेको विधि र संस्थागत प्रणालीलाई प्राथमिकता दिने, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा लागू गर्ने, युवाशक्ति, उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राख्ने तथा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धिको ठोस मार्गचित्र प्रस्तुत गर्ने काँग्रेस रहेको सभापति बरालले जानकारी दिए ।
चुुनावी सभा व्यवस्थापन समितिका संयोजक एवम् नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाले दिउँसो १ बजे सुरू हुने सभामा १५ हजार भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।
















