पोखरा। २५औं संस्करणको आहा! रारा पोखरा गोल्डकप मा प्लानिङ ब्वाइज युनाइटेडले सहज जित निकालेको छ । शुक्रबार पोखरामा रङ्गशालामा भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । फ्रेन्च खेलाडी पापा आइबो केबेलेको ह्याट्रिकसँगै हालै ए डिभिजनमा उक्लिएको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको हो ।
पापाले खेलको ४५, ५४ र ८१औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो ह्याट्रिक पूरा गरे। त्यस अगाडि खेलको २७औं मिनेटमै प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । सेनेगलका एलेक्स विलिइनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । साहिल केसीको प्रहार डी–एरिया भित्र योगेश गुरुङको हातमा लागेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएका थिए । प्लानिङ ब्वाइजले अब विदेशी टोली आभा एफसी उज्वेक्स्तिान सँग क्वार्टरफाइनलमा भेट पक्का गरेको छ ।
अब प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ ।
प्रतियोगितामा ३ विदेशीसमेत गरी १२ टिम सहभागी छन् । दुई समूहमा विभाजित गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब पोखरा, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङमर्स्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेड भारत रहेका छन् । त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।
















