पोखरा । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ माथि पोखरामा परिचर्चा गरिएको छ । र्‍याण्डम रिडर्स सोसाइटी नेपालको आयोजना गरिएको परिचर्चा कार्यक्रममा डा‍.नेत्र एटमले कृति माथि परिचर्चा गरेका थिए । उनले लेखकको वैचारिकता कथामा प्रकट भएको बताए । हरेक कथामा मौलिक छाप हुनुपर्ने बताएका उनले  ‘सत्यम्’ कथासङ्ग्रहमा पनि त्यो मौलिक छाप रहेको उल्लेख गरे । उनका कथा सम्भावनातिर भन्दा आफ्नो स्मृतिको यात्रातिर अगाडि बढेको भन्दै लेखकको व्यक्तिगत अनुभूतिले महत्वपूर्ण भूमिका खेलेको समीक्षक एटमले खुलाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले साहित्य सिर्जना गर्दा जुन लेखकले नयाँ सम्भावनाको खोजी कलात्मक रुपमा गर्न सक्छ त्यस्ता कृति बढी पठनीय हुने उल्लेख गरे । नयाँ सम्भावना खोज्ने व्यक्तिहरूले नै संसारलाई यो ठाउँसम्म ल्याइपुर्‍याएको बताए ।

लेखक वियोगीले साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कमल चलाउँदै आएका छन् ।  उनको यो पहिलो कथा–कृति हो । जन्म ठाउँ त्यसको परिवेशले पारेको प्रभावका कारण पत्रकारिता हुँदै लेखन तर्फ तानिएको बताए । उनले पाठकबाट प्राप्त भएका सुझाबलाई मनन गर्दै निरन्तर लेख्दै जाने प्रतिवद्धता जनाएका छन् । आफूलाई पीडा दिएर आफै रमाउने स्वभाव भएको कारण त्यसको प्रतिविम्ब कथा सङ्ग्रहमा समेत रहेको हुन सक्ने प्रष्ट पारे ।

कथासङ्ग्रह र त्यसको समीक्षा माथि साहित्यकार सरस्वती प्रतीक्षासुरज पौडेलले जिज्ञासा राखेका थिए । उनीहरूका जिज्ञासालाई लेखक र समीक्षकले मेटाए । 

पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः गण्डकी प्रदेश तथा स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन गरेका छन् । करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उनी  ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन् ।

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उनको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् । 

र्‍याण्डम रिडर्स सोसाइटी नेपालका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमको सञ्चालन खिम लामिछानेले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कृति माथि परिचर्चा कार्यक्रम गर्दै आएक‍ो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0