पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व नभइकन नेपालमा लगानीको वातावरण नबन्ने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्स कास्कीले पोखरामा आयोजना गरेको ‘वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायित्व नभइ अर्थनीतिको स्थायित्व नहुने हुँदा राजनीतिक स्थायित्व अनिवार्य भएको प्रष्ट पारे । लगानी गर्ने वातावरण अर्को मुख्य कुरा भएकोले ऐन कानुनमा परिमार्जन गरेर लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनले औंल्याए । नेपालमा लगानी गर्ने वातावरण नबन्दा यहाँको पुँजी बाहिर जान थालेको उनको भनाइ थियो ।

 अध्यक्ष अग्रवालले  फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाएर राजनीतिक स्थिरता देशमा कायम गर्न निजी क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलन पश्चात् सम्पत्तिको क्षति हुँदा विमाले पनि कभरेज नगरेको भन्दै उनले अन्डर इन्स्योरेन्स हुने भएको कारण क्षतिको खबर हुन नसकेको उनले उल्लेख गरे । औद्योगिक, व्यवसायिक र सम्पत्ति गरेर निजी क्षेत्रको ८० विलियन भन्दा बढी क्षति भएको तर सरकारी तथ्यांक धेरै कम भएको खुलाए । यसरी क्षति भएपछि निजी क्षेत्रको मनोबल घटेर नेपालमा लगानी गर्ने कि नगर्ने भन्ने प्रश्न चिन्ह खडा गरेको सुनाए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले पछिल्लो समयमा ब्ल्याक लिष्टेड व्यापारी धेरै भएको कारण व्याजदर न्यून हुदाँपनि ऋण लिन नसकेको बताए । १ लाख ५० हजार व्यापारी ब्ल्याक लिष्टमा परेकोले उनीहरूमा लगानी गर्ने उर्जा घटेको उल्लेख गरे । अहिले देशमा परेको संकटलाई उचित सम्बोधन नहुने हो भने जेनजी आन्दोलन दोहोरिन सक्ने खतरा उनले औंल्याए ।

पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोलाले संस्थाले गरेका गतिविधि परेका समस्या लगायतका विषयमा जानकारी गराएका थिए । व्यवसायीलाई परेका समस्यालाई उचित सम्बोधन गराउने हेतुले केन्द्रीय अध्यक्षको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको उल्लेख गरे । पोखरामा हुने अधिकांश कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सको सहभागिता हुने गरेको उनले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन महासचिव गोकर्ण अधिकारीले गरेका थिए । कार्यक्रमका सहभागी व्यवसायीले आफ्ना जिज्ञासा, समस्या सहित नेपाल चेम्बर अफ कमर्सवाट गरेका अपेक्षा लगायतबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0