पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज आइतबारको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो ।

यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल सङ्घले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित गर्‍यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।

आजै भएको खेलमा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए । न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौँ सेटमा पुनरागमन जित निकालेको थियो ।

च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबीच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् । भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबीच हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0