पोखरा । पोखरामा ‘त्यो फेरि फर्कला’ नाटक मञ्चन हुने भएको छ । पोखरामा आयोजित छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ मा माउन्ट अन्नपूर्ण मावि नदीपुरको प्रस्तुतीमा यो नाटक मञ्चन गर्न लागिएको हो । भवानी भिक्षुको कथामा आधारित यो नाटकको लेखन तथा निर्देशन सुसन पौडेलले गर्दैछन् । केही नाटक निर्देशन गरेपनि आफै नाट्य रुपान्तरण गरेर निर्देशन गरेको पौडेलको पहिलो प्रयास हो । भवानी भिक्षु लाई सम्झदै उनले त्यो फेरि फर्कला जस्तो कृतिमा काम गर्न चुनौतिपूर्ण भएपनि सम्पूर्ण टिमको सहयोगले चुनौती लाई उत्साहमा परिणत गरिदिएको बताएका छन् ।
यो नाटक एउटा नारी मनोविज्ञान मा आधारित भएर लेखिएको कथा हो । जहाँ सानी नामक मुख्य पात्र छ । उस्की आमा सामान्य भट्टी पसल चलाएर बसेका छन । उक्त पसल मा एक दिन एउटा यात्री आइपुग्छ र सानी यात्री प्रति आशक्ति हुन्छे । यात्री १५ दिन मा फर्कने बाचासहित जान्छ, तर फर्किदैन । सानी भने जीवन भर कुरेर बस्छे । र, सानी वृद्ध भैसकेपछि यात्री आउँछ । यसरी नारी हृदयको बारेमा उस्को प्रतीक्षाको बारेमा कथा र नाटक दुवैले प्रस्तुत गरेका छन् ।
नाटकमा आशिका रामदाम, स्मृती घताने गुरुङ, अनुपम पौडेल, प्रतीक पुन, आहाना शर्मा, विशेष भण्डारी, ओजस्वी सुवेदी, डोनिसा मगर, आयस्था भुजेल, समीप परियार, रिदम पन्थ, अदित सुनार, रेक्स तिलिजा पुन लगायतले अभिनय गरेका छन् ।
सङ्गीत अभिषेक भुसालको रहनेछ भने मञ्च निर्माणमा विकास अधिकारीले आफ्नो कला देखाउनेछन् । प्रकाश तथा ध्वनि व्यवस्थापनमा उत्सर्ग सुवेदी र रमेश तिमल्सिना, भेषभुषा व्यवस्थापनमा रञ्जु दाहाल र सहयोगीको रुपमा सञ्जय गुरुङले सघाउनेछन् । यो नाटक माघ १३ गते बिहान साढे १० बजे, १२ बजे र साढे १ बजे मञ्चन हुनेछ ।
पोखरा थिएटरले आयोजना गरेको छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’मा त्यो फेरि फर्कला’ नाटकको अलावा छोरेपाटन मावि छोरेपाटनको पार्वती, कास्की मोडनाइज्ड एकेडेमी चाउथेको यमद्वार, भानुभक्त आवासीय मावि सिमपानीको रोल नं.४, एसओएस हर्मन माइनर स्कुल गण्डकीको किताब भित्र किताब बाहिर, सोसल पब्लिक स्कुल रामबजारको किनारा विहीन किनारा र प्रगति माध्यामिक विद्यालयको भात नाटक समेत महोत्सवमा मञ्चन हुने पोखरा थिएटरका संस्थापक अध्यक्ष तथा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न विद्यालयले तयार पारेका यि नाटक मञ्चन हुनेछन् ।
महोत्सवमा कक्षामा मञ्च, पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम सञ्चालन हुनेछ । यसैगरी अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । माघ १० गते बिहान ११ बजे उद्घाटन हुने महोत्सव माघ १९ गते दिउँसो साढे २ बजे समापन हुनेछ । ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ आयोजना गरिएको महोत्सवलाई विगतमा भन्दा थप विशेष र परिष्कृत बनाउन खोजिएको अध्यक्ष परिवर्तनको भनाइ छ ।
















