पोखरा । एनसेल छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहीबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको एक भव्य कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका हुन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश प्रमुख भट्टले खेलकुद स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथि उठाउने महत्वपूर्ण माध्यम रहेको बताए । उनले खेल क्षेत्रमा लगानीका लागि सरकार प्रयत्नशील रहेको जनाउँदै सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएको उल्लेख गर्दै भने–“नेपाल जस्तो भौगोलिक र सानो ठाउँमा समेत भलिबल खेल खेल्न सकिने भएको र सबैको पहुँचमा रहेको कारणले पनि भलिबल खेलको लोकप्रियता बढेको छ ।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालले उत्कृष्टता हासिल गर्न सफल भएको जनाउँदै खेलाडीहरूलाई आर्थिक उर्पाजनमा समेत भलिबल खेल महत्वपूर्ण रहेको उनको भनाई थियो ।
सोही कार्यक्रममा आफ्ना भनाई राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पोखरा जस्तो पर्यटकीय शहरमा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुसीको महसुस भएको उल्लेख गरे । उनले नेपाली यूवाहरूले मुलुकको परिवर्तनका लागि खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै नेपाल र नेपालीहरू संस्कृति र प्रकृतिको मात्रै धनी नभई मनको पनि उत्तिकै धनी भएको जनाए ।
यसै गरी नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेल मैदान निर्माणका लागि सङ्घले पहल गरिरहेको उनको भनाई थियो ।
टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष शर्माले मुलुकको विषम परिस्थितिमा समेत आफूहरूले यो प्रतियोगितालाई निरन्तरता दिँदै भलिबल खेलमार्फत पोखरालाई विश्व सामु चिनाउन पहल गरेको बताए । उनले भने–“छैटौं संस्करणमा आइपुग्दा टाइगर कप ब्रान्ड बनेको छ । यो ब्रान्डको रुपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा म संस्थाको तर्फबाट आभार व्यक्त गर्दछु ।”

प्रतियोगिताको पहिलो दिनको पुरुषतर्फको खेलमा विभागीय टोली एपीएफ क्लब र नेपाल आर्मीले आफ्नो बिजयी सुरुआत गरेका छन् । उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ एपीएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको छ । पहिलो सेट २६–२४ ले जितेको एपिएफले दोस्रो सेट २७–२५ ले गुमाउन पुग्यो । तर तेस्रो सेटमा गण्डकी खेलमा फर्किदै २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौथो सेटमा एपीएफ २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल जिल्न सफल भयो । सो खेलमा एपिएफका उपेन्द्र परियार प्लेयर अफ दि म्याच बने ।
यस्तै पुरुषतर्फनै भएको अर्को एक खेलमा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी सुरुआत गरेको छ । आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने । उनले केल्मीको टिशर्ट प्राप्त गरे ।
त्यस्तै गरी महिलातर्फ भएको खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले जित हात पारेको छ । न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–०८ ले सहज जित हात पार्न सफल भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
टाइगर ग्रुपद्वारा तीन जना सम्मानित
एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को उद्घाटन समारोहमा भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने याउने तीन जनालाई टाइगर ग्रुप अफ पोखरा, नेपालले सम्मान गरेको छ ।
सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर रहेका छन् ।
सम्मानित राजकुमार अधिकारीले पोखरामा २०५८ सालमा पहिलो पटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न संयोजकको भूमिका निर्वाह गर्दै भलिबल खेलको विकासमा उल्लेखनीय योगदान दिएका थिए । त्यस्तै, महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका न्यू डायमण्ड यूथ स्पोट्र्स क्लबका प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरिएको हो ।
यसैगरी, एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेता तथा गण्डकी प्रदेश टिमका खेलाडी हिमाल सुनारी मगरलाई पनि उक्त अवसरमा सम्मान प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेश प्रमुख भट्ट, संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रतियोगिताका संयोजक राजकुमार गुरूङलगायतले दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।
शनिबार (भोली) हुदैछन चार खेल
एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२’को दोस्रो दिन शनिबार महिलातर्फ २ र पुरुषतर्फ दुई गरी चार खेलहुने आयोजक टाइगर ग्रुपका सचिब डिबी नेपालीले जानकारी दिएका छन् । महिलातर्फ विभागीय टोली नेपाल पुलिसले अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्ने छ भने दोस्रो खेलमा एपीएफ क्लबले पाहुना टोली थाइल्याण्ड क्विन्सको भेट हुनेछ ।
त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घले पाहुना टोली मालदिभ्स भलिबल क्लब संगा र दोस्रो खेल विभागीय टोली नेपाल पुलिस क्लब र पर्वत जिल्ला भलिबसंघका बीच हुनेछ ।
नेपाल भलिबल संघको स्वीकृतिमा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौँ संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।
















