पोखरा । पोखरामा माघ १० गते यमद्वार नाटक मञ्चन हुने भएको छ । कास्की मोडनाइज्ड एकेडेमी चाउथेले तयार पारेको यो नाटक पोखरामा आयोजित  छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ मा मञ्चन हुन लागेको हो । 

रमेश तिमल्सिनाको निर्देशनमा तयार भएको नाटक अजय कुमार जिसीले लेखेका हुन् ।  नाटकमा कृपा सापकोटा, सुजता क्षेत्री, दिप्तिका गुरुङ, जमुना सुनार, सिम्रन पाठक, सखी गुरुङ, प्रमिशा बस्याल, विमर्श पोख्रेल, सोनिसा भण्डारी, आस्मा कारञ्जीत, दिवस थकाली, सेरिजा थापा, शुभम् मानन्धर, सुशान्त ताम्राकार, अरुण श्रेष्ठ लगायतको अभिनय हेर्न पाइनेछ ।

 कास्की मोडनाइज्ड एकेडेमीको प्रस्तुतीमा मञ्चन हुने नाटकमा आवेगमा लिइएका फैसलाहरू प्रतिको पश्चाताप र त्यसले परिवारमा पार्ने प्रभावलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको निर्देशक तिमल्सिनाले खुलाए । माघ १० गने गते दिउँसो १ बजे र ३ बजे यो नाटक हेर्न पाइनेछ । यसका अलावा माघ ११ गते बिहान साढे १० बजे, १२ बजे र साढे १ बजे समेत यो नाटक मञ्चन गर्ने बताइएको छ । कुल ५ सो मार्फत दर्शक माझ प्रस्तुत गर्न लागिएको नाटकले दर्शकको माया पाउने नाटक युनिटको विश्वास छ ।

 पोखरा थिएटरले आयोजना गरेको छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’मा यमद्वार नाटकको अलावा छोरेपाटन मावि छोरेपाटनको पार्वती, माउन्ट अन्नपूर्ण मावि नदीपुरको फेरि त्यो फर्कला, भानुभक्त आवासीय मावि सिमपानीको रोल नं.४, एसओएस हर्मन माइनर स्कुल गण्डकीको किताब भित्र किताब बाहिर, सोसल पब्लिक स्कुल रामबजारको किनारा विहीन किनारा र प्रगति माध्यामिक विद्यालयको भात नाटक समेत महोत्सवमा मञ्चन हुने पोखरा थिएटरका संस्थापक अध्यक्ष तथा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न विद्यालयले तयार पारेका यि नाटक मञ्चन हुनेछन् । 

  महोत्सवमा कक्षामा मञ्च, पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम सञ्चालन हुनेछ । यसैगरी अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । माघ १० गते बिहान ११ बजे उद्‌घाटन हुने महोत्सव माघ १९ गते दिउँसो साढे २ बजे समापन हुनेछ । ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ आयोजना गरिएको महोत्सवलाई विगतमा भन्दा थप विशेष र परिष्कृत बनाउन खोजिएको अध्यक्ष परिवर्तनको भनाइ छ । सबैजनालाई महोत्सवमा सहभागी बनेर नयाँ पुस्तामा नाटक प्रतिको आकर्षण बढाउने अभियानमा साथ दिन आयोजक पोखरा थिएटरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0