पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो । जसमा ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् । फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ । मंगलबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।
माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
गण्डकीका १८ निर्वाचन क्षेत्र
गण्डकीका १८ निर्वाचन क्षेत्रका लागि २४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार मंगलबार लमजुङमा १२, नवलुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पवर्तमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोर्खामा २७, स्याङ्जामा २८ र कास्कीमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
















