पोखरा । पोखराका कलाकार भुवन गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्ट्स पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन् । उनलाई राजधानीमा हालै आयोजित एक कार्यक्रमममा पुरस्कार अर्पण गरिएको हो ।
पोखरामा रहेर विगत ४५ वर्षदेखि साइन बोर्ड लेखन कार्यमा सक्रिय गुरुङले श्रेष्ठ आर्ट्समा साइन बोर्ड लेख्न सिके पछि यही पेशा अवलम्बन गरेका थिए । उनले स्वतन्त्र कलाकारको रुपमा अरुको पसलमा बसी बोर्ड लेख्ने गरेका गरे। श्रेष्ठ आर्ट्स सँगै पुन आर्ट्स, श्रमिक आर्ट, भूगोल आर्ट लगायतका पसलमा बसेर साइन बोर्ड तयारमा व्यस्त हुँदा उनले आफै पसल खोलेर मालिक हुने सपना पालेनन् । साइन बोर्ड लेखनमा आएको गिरावटका कारण पेशा जोखिममा परेपछि उनी कामको खोजीमा अरबको खाडीमा समेत हानिए । तर यात्रा सोचेजस्तो हुन सकेन ।
आफ्नो नाममा एक टुक्रो जमिन नभएका उनी पोखराको सुकुम्बासी टोलमा बस्छन्। उनीसँग घरका अग्ला अग्ला भित्तामा बासका खट बाधेर त्यसैमाथि चढेर थुप्रै भित्ते लेखन र होर्डिङ बोर्ड लेखन गरेको अनुभव छ । उनले कोरेका कुशल कलाको माध्यम द्वारा धेरैका प्रचारप्रसार भयो भएपनि उनी आफै भने गुमनाम झै भए । निरन्तर व्यावसायिक कलामा लागि पर्दा समेत न उनलाई स्थानीय निकायले कदर गर्न सक्यो न राज्यले। यस्तै ओझेलमा परेका साइनबोर्ड लेख्ने कलाकारहरूलाई प्रोत्साहन गर्ने हेतुले पुन आर्ट्स पोखराका सञ्चालक समेत रहेका कलाकार तिलक पुन पुर्जाले स्वर्गीय मातापिताको नाममा मनबहादुर जितीमाया साइन कला पुरस्कार स्थापना गरेको हुन् । सोही पुरस्कार बाट सर्वप्रथम उनै भुवन गुरुङ १० हजार को नगद राशि सहित पुरस्कृत भएका हुन् ।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार सङ्घ क्यानको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखराका कलाकार गुरुङ सहित वरिष्ठ चित्रकार मदन चित्रकारलगायत १५ जना कलाकार विभिन्न पुरस्कार बाट पुरस्कृत भए । उनीहरूलाई वरिष्ठ चित्रकार शशि शाह, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले पुरस्कृतहरूलाई प्रमाण पत्र र नगद पुरस्कार अर्पण गरेका थिए ।















