पोखरा । इतु जोजिजु क्रियसन पोखरा र ग्रीन डेभलपमेन्ट बैङ्कको सहकार्यमा स्वर सम्राट नारायण गोपाल को ३५औं स्मृति साङ्गीतिक कार्यक्रम २०८२ पोखरा उद्योग वाणिज्य सङ्घको अमृतकक्षमा सम्पन्न भएको छ ।
चिनारी हाम्रो धेरै पुरानो… गीत तपस्या शाहीले गाएर सुरुवात गरिएको कार्यक्रममा त्यस पछि क्रमशः एक पछि अर्को गीत सुनाइयो । यती चोखो यति मीठो.. प्रसिद्धि भुर्तेलले, केही मीठो बात गर.. उपमा शर्माले , मलाई माफ गरिदेउ… मान्यता क्षेत्रीले, कसरी म भुले… सुमन भण्डारीले, तिम्रो मनमा…आईरा गुरुङ र निआ श्रेष्ठले , पोखिएर घामको झुल्का.. आरोही थापाले , अल्झेछ क्यारे.. आरुसी खनालले, सिरिमा सिरी.. सायुरी प्रजु र याबी भारीले, पर्खी बसे.. श्रब्या गुरुङले , तिमीलाई म के भनु.. सुमन भण्डारी र तपस्या शाहीले सुनाएका थिए ।
अतिथि कलाकारको रूपमा सञ्चारकर्मी समेत रहेका सन्तोष बस्यालले गल्ती हजार हुन्छन्.. गीत गाएका थिए । यसका अलावा गायिका इतु जोजिजुले तिमी जुन रहरले ..गीत प्रस्तुत गरिन् भने गायक रामभक्त जोजिजु ले मलाई नसोध.. गीत सुनाए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ग्रीन डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बालबालिकाहरूको प्रतिभा प्रस्फुटन हुने मौका कार्यक्रमले मिलाएको भन्दै आगामी दिनमा यी प्रतिभाले नेपाली साङ्गीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे ।
इतु जोजिजु क्रियसनका प्रबन्ध निर्देशक इतु जोजिजुले स्वागत मन्तव्य राख्दै जे.ई को अर्थ स्पष्ट नभएको र सबैको सल्लाह र सुझाव लाई अनुशरण गर्दै आफ्नो नाम बाट संस्थाको नाम राख्दा चिनिन सजिलो हुने हुनाले नाम परिवर्तन गरिएको कुरा जानकारी गराएकी थिइन् । यसअगाडि जे.ई. म्युजिको नाममा कार्यक्रम गर्ने गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार कृष्ण श्रेष्ठ, गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारी , गायिका अजुदा थापा , गायिका कौशल्या गुरुङ, गायक फिरोज बज्राचार्य,नेवा मिसा: पुच :का अध्यक्ष सङ्गीता बज्राचार्य, गायक हिराकाजी श्रेष्ठ, लगायत का वरिष्ठ व्यक्तित् हरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका विशेष अतिथि ग्रीन डेभलपमेन्ट बैँकका शाखा प्रबन्धक पदमलाल अधिकारीले पोखरा मै रहेको केन्द्रिय कार्यालय एक मात्र बैङ्क भनेको नै ग्रीन डेभलपमेन्ट बैङ्क रहेको बताए । सभाध्यक्ष समेत रहेका वरिष्ठ गायक तथा सङ्गीतकार रामभक्त जोजिजुले नारायण गोपालकाे बारेमा चर्चा गरे । यसका अलावा सदाबहार गायक हुन कस्तो किसिमको गीत सङ्गीत हुनुपर्ने रहेछ भन्ने कुराबारे समेत बताए ।
साउण्ड पार्टनर को रूपमा साउण्ड गार्डेन रहेको थियो भने क्यामेरा, फोटोग्राफी , प्रोजेक्टर को काम नारायण पराजुली ले गरेका थिए । खचाखच भरिएको अमृत कक्ष हलमा पृथ्वीनारायण क्याम्पस का प्राध्यापक लक्ष्मण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। यस्ता कार्यक्रम निरन्तर गर्ने इतु जोजिजु क्रियसनले जनाएको छ ।











