पोखरा । पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेशको आयोजनामा युवा जागरण अभियान सम्पन्न भएको छ ।  पोखरा ड्‌‌यामसाइडस्थित रोयल महल ब्याङ्क्वेटमा भएको कार्यक्रममा  नेकपा एमालेका उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले समाज बदल्नका लागि सङ्गठन, सिद्धान्त र सङ्घर्ष आवश्यक पर्ने बताए । 

उनले जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्थ र संसद् विघटन गराइएको आरोप समेत लगाए । एमालेले जनताको बिचमा गएर संसद् पुनर्स्थापनाको मुद्दालाई स्थापित गराउन र सङ्गठनलाई थप बलियो बनाउन वडादेखि काठमाडौंसम्म विभिन्न भेला, जनपरिचालन, जनसभा लगायतका कार्यक्रमलाई तीव्र बनाउदै लगेको बताए ।

एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई असंवैधानिक सरकार भएको बताउँदै संसद् पुनर्स्थापना हुनुपर्ने बताए । संसद् पुनस्थापना गरेर आधारभूत तहका जेनजीका माग सम्बोधन गर्न सकिने उनको दावी छ । उनले नेकपा एमाले जनताको सेवामा समर्पित रहेको र जनताको साथ पनि पाटीलाई रहेको दावी गर्दै ११ औँ महाधिवेशनमा मंसिर २७ गते काठमाण्डौमा अथाह कार्यकर्ताहरू उपस्थित हुने बताए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको बताउँदै यसमा संलग्नहरूलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन सरकारलाई सुझाव दिए । उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सुदन गुरुङलाई २४ घण्टाभित्र समाउन आग्रह गरे ।  नसमातिए राष्ट्रिय युवा सङ्घ नेपाल र नेशनल भोलन्टियर्स फोर्सले पक्राउ गरेर  बुझाउने चेतावनी उनले दिए । । सरकारले यथाशीघ्र अपराधमा संलग्नलाई कारबाही नभएमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालकाे सत्ता धेरै नटिक्ने उनले चेतावनी समेत दिए । उनीहरूको कुर्चीलाई कुहिएको फर्सीसँग तुलना गरे । अबको केही समयमा कार्की नेतृत्वको सरकार ढल्ने र जेनजीको सहभागिता सहितको सर्वदलीय सरकार बन्ने दावी उनले गरे ।

पिताम्बर खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा इन्चार्ज राजीव पहारी, युवा सङ्घका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्षद्वय महाराज गुरुङ र विनय शाह, युवा सङ्घका केन्द्रीय महासचिव महेश चौलागाईं, युवा सङ्घका  गण्डकीका इन्चार्ज  अक्कल तामाङ लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0