पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा भएको ११ वटै जिल्लाका प्रतिनिधिहरूको विशेष भेलाले मङ्सिरभित्रै महाधिवेशन गरेर चुनावमा जानुपर्ने निर्णय गरेको छ । जेनजी आन्दोलनपछि मुलुकको वर्तमान परिस्थितिमा नेपाली काङ्ग्रेसको जिम्मेवारी र १५ औं महाधिवेशनको सम्बन्धनमा भएको विशेष भेलामा जिल्ला जिल्लाका प्रतिनिधि, जिल्ला सभापतिलगायत अधिकांशले मंसिर २७ भित्रै नियमित महाधिवेशन नत्र विशेष महाधिवेशनको विकल्प नभएको बताएका थिए । 

जेनजी आन्दोलनका कारण उत्पन्न पछिल्लो परिस्थितिमा अहिलेकै नेतृत्वमा चुनावमा जान नसकिने अधिकांश नेता कार्यकर्ताको भनाइ थियो । भेलामा बोल्ने केही प्रतिनिधिले अहिलेकै नेतृत्वमा चुनावमा गए काङ्ग्रेसका उम्मेदवारलाई जिताउन मत माग्न जान नसकिनेसमेत बताए । उनीहरूले सकेसम्म नियमित ५४ प्रतिशत महाधिवेशनको मागअनुसार विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिका साथ चुनावमा जानुपर्ने आवाज उठाएका हुन् । काङ्ग्रेसका नेता कार्यकर्ताको भनाइपछि प्रदेश समितिले निर्णयको प्रस्ताव गर्दै पारित भएको घोषणा गरेको थियो । भेलाले विभिन्न निर्णय गरेको छ । 

प्रदेश समिति सभापति शुक्रराज शर्माले काङ्ग्रेस रूपान्तरण र नयाँ नेतृत्व तथा नीतिका साथ जनतामा जानुको विकल्प छैन भन्ने विषयलाई भेलाले अनुमोदन गरेको बताए । शर्माले तुरुन्त नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरे। उनले नियमित महाधिवेशन नगरे ५४ प्रतिशत हस्ताक्षर अनुसार विशेष महाधिवेशन गर्न माग गरे । 

 सभापति शर्माले आन्तरिक स्वार्थका कारण केन्द्रीय समिति अनिर्णयको बन्दी बनेको बताउँदै काङ्ग्रेसले धार्मिक स्वतन्त्रता, प्रजातन्त्र, समाजवाद छोडेर आफ्नो विरासतमा नफर्किने हो भने जो सभापति बने पनि देशलाई केही दिन नसक्ने दाबी गरे । यथाशीघ्र नियमित महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र त्यसो नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै शर्माले कुनै निर्णय दिन नसक्ने हो भने नेतृत्व छोड्न समेत चेतावनी दिए । शर्माले पार्टी र जनताबीचको दूरी बढ्दै गएमा देश दुर्घटनामा फस्ने चेतावनी दिँदै धार्मिक स्वतन्त्रता, प्रजातन्त्र र समाजवादजस्ता काङ्ग्रेसका मूल सिद्धान्तहरूबाट विचलित हुँदा पार्टी कमजोर भएको तर्क गरे । 

भेलामा पार्टीको प्रदेश समितिका पदाधिकारीहरू सहित बिभिन्न जिल्ला समितिका सभापति र पार्टीको बिभिन्न तहका नेता कार्यकर्ताहरूले आआफ्नो भनाई राखेको पार्टीको प्रदेश समितिका प्रवक्ता माधव बास्तोला मधुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0